काठमाडाैँ । नेपालका लागि रुसी राजदूत अलेक्सेई ए नोभिकोभले रुसी सेनामा भर्ति भएका नेपालीहरू नै स्वदेश फर्किन नचाहेको बताएका छन्।
अर्थमन्त्री वर्षमान पुनसँग बुधबार सिंहदरबारमा भएको भेटमा राजदूत नोकोभिकले रुसले फिर्ता पठाउन चाहे पनि सबै नेपाली स्वदेश फर्कन इच्छुक नभएको आफूले खबर पाएको बताए।
‘नेपालले पठाएर र हामीले आह्वान गरेर उनीहरू सेनामा भर्ती भएका होइनन् । स्वेच्छाले भर्ती भएकाले स्वदेश फर्कभन्दा पनि धेरै नेपाली नफर्कने मनस्थितिमा रहेको खबर हामीले पाएका छौँ,’ राजदूत नोभिकोभले भने ।
भेटमा नेपालको जलविद्युत् र मल कारखानामा रुसी लगानी भित्र्याउन पहल गर्न आग्रह गरेका अर्थमन्त्री पुनले छुट्टै प्रसंगमा द्विपक्षीय सम्झौताबिना नै रुसी सेनामा नेपाली युवा भर्ती भएको विषयमा राजदूत नोभिकोभसँग चासो राखेका थिए ।
उनले रुसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फिर्तीको वातावरण बनाउन रादजूत नोभिकोभलाई आग्रह गरेका थिए । यस्तै, उनले रुस–युक्रेन युद्धमा मृत्यु भएकाको शव नेपाल ल्याउने वातावरण बनाउन, घाइतेको उपचार तथा मृतक परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न रुसको ध्यानाकर्षण गराएका थिए ।
‘रुसी सेनामा आफ्ना नागरिक भर्ती गराउने हाम्रो नीति नभएको विषयमा परराष्ट्र मन्त्रालयले यसअघि नै स्पष्ट गरिसकेकै छ । तर, पनि विभिन्न बाटो भएर गएका नेपाली रुसी सेनामा भर्ती भएका छन्,’ यसमा नेपाल सरकार र आमजनताको गम्भीर चासो र चिन्ता छ । म यहाँमार्फत् रुस सरकारलाई रुसी सेनामा कार्यरत नेपालीको घर फिर्तीको वातावरणका लागि आग्रह गर्दछु,’ मन्त्री पुनले भनेका थिए ।
जवाफमा राजदूत नोभिकोभले नेपालीलाई सेनामा भर्ती गर्ने कार्यमा नेपाल सरकार दोषी नभएको तथा रुसले पनि उनीहरुलाई बोलाएर भर्ती नगरेको तर्क गर्दै भारत र दुबईसहित विभिन्न मुलुकबाट अवैध रूपमा गएका नेपाली स्वेच्छाले सेनामा भर्ती भएको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्