ताप्लेजुङ, हिउँद भरिको खडेरीले आजित भएका किसानलाई वर्षा भएपछि थोरै भएपनि राहत मिलेको छ । ताप्लेजुङसहित पूर्वी पहाड तथा हिमाली जिल्लमा मङ्गलबार रातिदेखि वर्षा हुन थालेछि किसानलाई राहत महसुस भएको हो ।
मकै बाली लगाउने समयमा वर्षा नभएपछि किसान चिन्तित थिए । लामो खडेरीका कारण समयमा मकै बाली लगाउन नपाएका किसानलाई वर्षा हुन थालेपछि राहत महसुस भएको छ । हिउँदभर वर्षा नहुँदा अधिकांश किसानले मकै बाली लगाउन पाएका थिएनन् भने मकै रोपेको राम्ररी नउम्रेको र उम्रेको पनि सुक्न थालेको थियो ।
हिमाली क्षेत्रमा हिमपात
मङ्गलबार रातिदेखि सुरु भएको वर्षासँगै ताप्लेजुङको उच्च हिमाली भेगमा हिमपात भएको छ । उच्च हिमाली भेगअन्तर्गत रहेको बस्ती फक्ताङ्लुङ गाउँपालिका –६ लेलेपको घुन्सा, फले र वडा ७ ओलाङ्चुङगोलासहित क्षेत्रमा हिमपात भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार घुन्सामा आधा फिटभन्दा कम अर्थात् चार इन्च जति हिउँ परेको छ । फले, याङ्मा र ओलाङ्चुङगोला बस्तीसम्म नै सामान्य हिमपात भएको उनले जानकारी दिए । हिमाली भेगका बस्तीमा बुधबार अपरान्हदेखि हिमपात सुरु भएको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्