काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होलीपर्व)ले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरेका छन् । होलीपर्वका अवसरमा राष्ट्रपति पौडेलले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै रङहरूको पर्व होलीले आपसी मेलमिलाप र सद्भावको सन्देश दिने उल्लेख गरेका हुन्। उनले यस पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरेका छन् ।
उपराष्ट्रपतिको शुभकामना
उपराष्ट्रपति रामसहायप्रसाद यादवले फागु पूर्णिमा ृहोलीेको अवसरमा राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ता, सामाजिक सम्बन्ध र बन्धनहरूलाई बलियो बनाउने महान् अवसरका रूपमा सबैले यसलाई उपयोग गर्न आह्वान गरेका छन् । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै उनले आपसी समझदारी, सद्भाव, समरसता, मैत्रीभाव, अपनत्वभाव र समानताको प्रतीकका रूपमा रहेको होलीपर्व शालिनता, परस्पर मेलमिलाप र आत्मीयता अभिवृद्धि गर्ने अवसर भएको समेत जनाएका छन् ।
पूर्वराष्ट्रपतिको शुभकामना
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमामा मौलितकतालाई जोगाउन आह्वान गरेकी छन् । उनले होलीपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा शुभकामना व्यक्त गर्दै संस्कृतिका असल पक्षलाई प्रवर्द्धन गर्न चाडपर्वलाई मितव्ययी र विकृतिरहित राख्नपर्नेमा जोड दिएकी छन् ।
उनले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न यस पर्वबाट सबैमा प्रेरणा शुभकामना व्यक्त गरेकी हुन् ।
प्रधानमन्त्रीको शुभकामना
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले होलीपर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
होलीपर्वका अवसरमा आज सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले यस पर्वले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तरघूलनलाई प्रतिनिधित्व गर्नेसमेत जनाएका छन् ।
सभामुखको शुभकामना
सभामुख देवराज घिमिरले हामीसँग परम्परागत तथा मौलिक चाडबाडलाई थप समृद्ध बनाउँदै भावी पुस्तासम्म जीवित राख्ने दायित्व भएकाले चाडबाडका नाममा हुने गलत प्रवृत्तिहरूलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिएका छन् ।
फागु पूर्णिमा (होलीपर्व)का अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै उनले, “पछिल्लो समय होलीमा विभिन्न खालका सामाजिक विकृति र विसङ्गति भित्र्याएको सार्वजनिक टिप्पणी हुने गरेको सन्दर्भमा म सबैलाई एकापसमा साथीहरू र परिवारसँग मात्र अनुशासित भएर रमाइलोसँग होली खेल्न प्रेरित गर्दछु ।” भनेका छन् ।
प्रतिक्रिया दिनुहोस्