बुटवल, खुल्ला सिमानाको फाईदा उठाउँदै भारतीय बैखी माछाको अवैध आयात बढे पछि स्थानीय नेपाली माछा किसान मारमा परेका छन् । नेपाल भारत खुला सीमावर्ती क्षेत्रको बाटो हुँदै अवैध रूपमा भारतीय बैखी माछा निर्बाध रूपमा नेपाली सीमावर्ती बजारमा बिक्रीवितरण हुँदै आएको छ । भारतीय माछा नेपाली बजारमा बिक्री हुँदा नेपाली माछा किसानलाई मर्का परेको माछा किसानको गुनासो छ ।
दुई महिनाअघि इलाका प्रहरी कार्यालय बुटवलले नेपालमा प्रतिबन्धित बैखी जातका माछा बरामद गरी नष्ट गरे पनि तीन दिनअघि समेत जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लुम्बिनी क्षेत्रीबाट बैखी माछा बरामद गरी नष्ट गरेको छ ।
इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले बुटवल उपमहानगरपालिका–५, हाटबजार लाइनबाट गत माघ ५ गते भन्सार छलेर नेपाल भित्र्याइएको दुई हजार केजी माछा बरामद गरी नष्ट गरेको थियो । प्रहरी प्रशासनले भारतीय माछा नेपाल ल्याउन कडाइ गरे पनि अवैध बाटो हुँदै नेपाली बजारसम्म आउने गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता मनोहरप्रसाद भट्टले तीन दिनअघि लुम्बिनीको ककरहवा नाका क्षेत्रबाट भारतबाट अवैध बाटो हुँदै नेपाल ल्याउँदै गरेको ४० किलो बैखी माछा बरामद गरी नष्ट गरिएको बताएका छन् । सीमावर्ती क्षेत्रका नेपाली माछापालक किसानले भारतीय माछाको अवैध आयातले आफूहरूको माछा बिक्री नहुने समस्या रहेकाले मर्कामा परेको बताउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्