धरान\ कोशी प्रदेशको तराई र हिमाल सम्म जोड्ने तमोर करिडोर सडक निर्माणाधिन छ । यसले तराई–पहाड र हिमाल मात्र जोड्दैन, यसले उत्तरी र दक्षिणी छिमेकी देशको नाका पनि जोड्ने छ । यो सडक निर्माणकै क्रममा सडक आसपासका बासिन्दाहरुको दैनिकीमा परिवर्तन देखिन थालेको छ । अहिले तराईबाट कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड भएर आएका सवारीसाधन राजमार्गको मूलघाटमा जोडिएर गएको कोरिडोरबाट पाँचथर र ताप्लेजुङ जिल्लासम्म जाने गरेका छन् ।
तराईबाट यी दुई जिल्लासम्म जान कोरिडोरको बाटो छोटो पर्ने भएकाले यहाँ अहिले यात्रु तथा मालवाहक सवारीको चाप बढ्दो व्रmममा छ । यातायातको चाप बढेर चहलपहल बढेसँगै कोरिडोर आसपासका नागरिक होटल तथा व्यापारतर्फ उन्मुख हुन थालेका छन् ।
विव्रmम संवत् २०७० मा यस स्थानमा कोरिडोर आइपुगेसँगै आफू कृषिबाट होटल व्यवसायमा लागेको चौबिसे वडा नं. ५ हङ्समोरङ बेँसीकी रूपादेवी दाहालले जानकारी दिईन् । आफूसंँग भएको तीन रोपनी जमिनबाट जीवनयापन असहज भइरहेको बेला कोरिडोरको व्यापारले तीन जनाको परिवारको जीवनयापनमा सहज भएको उनको भनाइ छ ।
स्थानीय खेम न्यौपाने पनि गत सालदेखि कृषि पेसा छाडेर सानो किराना पसल र होटल सञ्चालन गर्दै आएका छन् । गत वर्षदेखि पाँच लाख रुपियाँ लगानीमा व्यवसाय सुरु गरेको बताउनुहुने न्यौपानेले मासिक ४० हजार रुपियाँसम्म कमाइ हुने गरेको उनको भनाई छ।
पुख्र्र्यौली पेसाका रूपमा माछा मार्ने र खेतीपाती गर्दै आएका सो क्षेत्रका माझी पसल गर्ने, सवारीसाधनमा काम गर्नेतर्फ अग्रसर रहेको स्थानीय राजन माझीले जानकारी दिए । कोरिडोरमा दैनिक दुई सय वटा भन्दा बढी सवारीसाधन आवतजावत गर्ने भएकाले आफूहरूले तमोर नदीमा मारेको माछासमेत तत्काल र उचित मूल्यमा बिक्ने गरेको उनले बताए ।
भारतको जोगबनीदेखि चीनको ओलाङ्चुङगोला जोड्ने २५४ किमि कोरिडोरको धनकुटाको मूलघाट–पाँचथर सडकखण्ड अहिले ग्राभेल भएर कालोपत्रेको चरणमा छ । यो सडकमा भविष्य देखेर स्थानीय मात्रै नभई बाहिरबाट समेत व्यापारी आएर होटल, किरानालगायतका व्यापार व्यवसाय गर्न थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्