Ads

सशष्त्र प्रहरीको २४ सै घण्टा गस्ती


काठमाडौँ, सीमा पैदल गस्ती परिचालनसम्बन्धी अवधारणापत्र–२०८० लागु गरी सशस्त्रको पल्टनलाई सीमा गस्तीमा खटाइएको छ । सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत यो कार्य शुरु भएको हो । योसँगै भारत र चीनसँगको सीमा सुरक्षार्थ सशस्त्र प्रहरी बल नेपालले चौबिसै घण्टा गस्ती सुरु गरेको छ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले सीमा पैदल गस्तीको सुरुवात मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल–२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले सुरु गरेको जानकारी दिए । यो गस्ती सातै प्रदेश अन्तर्गतका प्रत्येक बाहिनीले गण, गुल्म, प्रस्तावित सीमा सुरक्षा गुल्म, सीमा सुरक्षा बल र बेससमेतको जनशक्ति समावेश गरी सीमाक्षेत्र तथा दसगजा इलाकामा बन्दोबस्तीसहित सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा तैनाथ गर्ने जनाइएको छ ।

छिन्नमस्ता बाहिनी मुख्यालय अन्तर्गतको नम्बर १३ गण पर्साले संवेदनशील क्षेत्र पहिचान गरी नागरिकको सुरक्षा र सीमा स्तम्भको संरक्षण सुरु गरिसकेको छ । तैनाथ पल्टनले अन्य सुरक्षा निकाय, जनप्रतिनिधि, सीमावासी तथा भारतीय समकक्षीको उपस्थितिमा गस्ती सुरुवात गरेको हो ।

परिचालन गरिएको गस्तीलाई गण, बाहिनी तथा सशस्त्र प्रहरी मुख्यालय हलचोक काठमाडौँबाट प्रत्यक्ष रूपमा अनुगमन गरिने सहप्रवक्ता थापाले जानकारी दिए ।
गस्ती टोलीले दसगजा क्षेत्रको सुरक्षा, सीमाक्षेत्रबाट हुने अपराध नियन्त्रण तथा सीमा अतिक्रमणको प्रभावकारी अनुगमन गर्ने छ । यसै गरी चोरी तस्करी रोकथाम, राजस्व चुहावट नियन्त्रणसँगै गैरकानुनी गतिविधि नियन्त्रण गर्ने छ ।

गस्तीले सशस्त्र प्रहरी बल र छिमेकी मित्रराष्ट्रका समकक्षीसँग समन्वय र सहकार्यमा सहयोग पुग्ने अपेक्षा रहेको छ । गस्तीमा परिचालन भइसकेको पल्टनलाई कार्यक्षेत्रको भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिकलगायतका वस्तुगत जानकारी गराइसकेको सशस्त्र प्रहरी मुख्यालय हलचोकले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू