Ads

कसरी लेखिदैछ आगामी वर्षको बजेट ?


काठमाडौँ,  अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१\८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु गरेको छ । अर्थमन्त्री वर्षमान पुनले शुक्रबार सहसचिव धनीराम शर्मा नेतृत्वमा बजेट मस्यौदा लेखन समिति गठन गरेका थिए । सहसचिव रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य रहेको समितिले मस्यौदा लेखन सुरु गरेको हो ।

बजेट लेखनको काम सुरु भएकाले अत्यावश्यकबाहेक भेटघाटका लागि नआइदिन अर्थ मन्त्रालयले आग्रह गरेको छ । मन्त्रीसहित सबै कर्मचारी बजेट निर्माणमा केन्द्रित हुनुपर्ने भएकाले भेटघाटको स्वरूपमा केही परिवर्तन गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले बजेट निर्माणसँग सम्बन्धित सरोकारवालालाई पनि पहिल्यै समय लिएर मात्र आइदिन आग्रह गरेका छन् । उनले सम्बद्ध मन्त्रालय तथा महत्वपूर्ण सरकारी निकाय, निजी क्षेत्रको प्रतिनिधि संस्थाका व्यक्तिहरू, दातृ निकायका प्रतिनिधिलाई समय लिएर मात्र भेट्न आइदिन आग्रह गरेका हुन् ।
संविधानमा हरेक वर्ष १५ जेठमा गणतन्त्र दिवसका दिन पारेर अर्थमन्त्रीले सङ्घीय संसद्मा आगामी आवको बजेट प्रस्तुत गर्ने बाध्यकारी व्यवस्था छ ।

सरकारले बजेट निर्माणको कार्यतालिकामा हेरफेर गर्दै यो वर्ष बजेटका सिद्धान्त र प्राथमिकता संसद्मा पेस गरिसकेको छ । तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले गत १४ फागुनमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा गरेको आव ०८१\८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । वर्तमान अर्थमन्त्री पुनले सोही प्रस्तावमा सांसदले उठाएका प्रश्नको जवाफ दिएसँगै दुवै सदनले बजेटका सिद्धान्त र प्राथमिकता पारित गरिसकेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू