Ads

तोकिएको समय भन्दा अगावै बन्यो पुल


उदयपुर\ उदयपुरको कटारी नगरपालिका ६ र ७ नम्बर वडाको सोमबारे–रिस्कु जोड्ने वैद्यनाख खोलाको पुल निर्माण सम्पन्न गर्ने समयावधि भन्दा १० महिना अगाडि नै सकिएको छ ।

उक्त पुलको सोमबार कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्की, भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगू, कृषिमन्त्री रामकुमार खत्रीलगायतले संयुक्त रुपमा उद्घाटन गरे । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालय, पूर्वाधार विकास कार्यालय उदयपुर अन्तर्गतको उक्त आयोजना २०८१ साल पुस ७ गतेसम्ममा सक्नुपर्ने गरी सम्झौता भएको थियो । २०७९ पुस ८ गते दुई वर्षका लागि सम्झौता भएपनि २०८० चैत १७ गते नै आयोजना सम्पन्न गरी सरकारलाई हस्तान्तरण भएको हो ।

केएम इन्जिनियर बुल्डर्स प्रा.लि. काठमाडौंले निर्माण गरेको उक्त पुलको लागत १४ करोड ९४ लाख ७३ हजार १ सय रुपैयाँ रहेको छ । जसमध्ये १३ करोड ५१ लाख रुपैयाँ भुक्तानी भइसकेको र १ करोड ४० लाख भुक्तानी हुन बाँकी रहेको पूर्वाधार विकास कार्यालय उदयपुरले जनाएको छ । प्रि स्ट्रेस्ड आरसिसि पुलमा पाइल फाउन्डेसन प्रविधिबाट जग हालिएको छ ।

८४.२० मिटर लामो उक्त पुलको ८.४० मिटर चौडा रहेको छ । पुलमा ६ मिटरको क्यारिज वे चौडाइ रहेको छ भने फुटपाथको लागि १.२० मिटर दुवैतर्फ राखिएको छ ।

 

Ads

सम्बन्धित पोष्टहरू