गोरखा । गोरखा जिल्ला कारागारमा रहेका थुनुवा तथा कैदीबन्दीलाई खुसी हुन सिकाउन ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय गोरखाले प्रशिक्षण दिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाको समन्वयमा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयका आध्यात्मिक वाचकद्वारा तीनदिने प्रवचनसहितको प्रशिक्षण प्रदान गरिएको कार्यालयका सूचना अधिकारी रहनुभएका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
कैदीबन्दीमा विगतका गल्ती कमजोरीको महसुस गराउँदै आफूलाई सुधार गर्दै लैजाने र जटिल परिस्थितिमा पनि खुसी हुन सक्ने क्षमताको विकासका लागि कार्यक्रमको आयोजना गरिएको हो”, उनले भने, “यस कार्यक्रमबाट उनीहरुमा सकारात्मक सोचको विकास गर्न मद्दत पुगेको छ ।”
प्रशिक्षण कार्यक्रममा कैदीबन्दी र थुनुवालाई सामाजिक व्यवहार सुधारका लागि मात्र नभएर मानसिक र शारीरिक स्वास्थ्य, सकारात्मक सोच एवम् आत्मिक शान्तिमा ध्यान केन्द्रित गराउनका लागि पनि आध्यात्मिक प्रवचन दिइएको ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय गोरखाकी सञ्चालक रहेकी प्रशिक्षक पवित्रा आचार्यले जानकारी दिइन् ।
लामो समयसम्म एकै ठाउँमा रहँदा उनीहरुमा तनाव, नैराश्यता उत्पन्न हुने, रिस आवेग र प्रतिशोध बढ्दा आपराधिक सोचको विकास हुनसक्ने भएकाले मनमा उब्जने गलत मनोभावनालाई परास्त गर्दै सकारात्मक सोचको विकास गराउनु आवश्यक छ, उनले भनिन्, “त्यसका लागि यस्ता खालका आत्मिक प्रवचन तथा प्रशिक्षण महत्वपूर्ण हुन्छ ।”
कैद सजाय भुक्तानी गरेर फर्किएपछि उनीहरुले समाजमा आफूलाई असल व्यक्तिका रुपमा कसरी पुनःस्थापित गराउनु सक्नुपर्छ भन्ने विषयमा समेत कैदीबन्दी तथा थुनुवालाई प्रशिक्षण दिइएको प्रशिक्षक आचार्यले बताइन् । “कुनै गल्ती वा कमीकमजोरीका कारण कारागारमा सजाय भोगिरहेका बेला उनीहरुलाई खुसी कसरी रहने भन्ने बारेमा सचेतना कार्यक्रम लाभदायी हुन्छ”, उनले भनिन्, “मानिसले हरेक जटिल परिस्थितिमा पनि राजयोगको साधना गर्न सके खुसी हुन र मनमा शान्ति मिल्ने भएकाले पनि कार्यक्रममार्फत साधना गर्ने विधि समेतको प्रशिक्षण दिइएको हो ।”कार्यक्रममा कारागारमा रहेका १८ जना महिला र एक सय १२ पुरुष सहित १३० जना कैदी र थुनुवाबन्दी सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस्