Ads

मन्त्री डीपी अर्यालको सुधार : आजै टोकन, आजै श्रम स्वीकृति


काठमाडौं। वैदेशिक रोजगार कार्यालयले आधा घण्टामै श्रम स्वीकृति दिएपछि सिन्धुपाल्चोकबाट आएका एक युवा आश्चर्यमा परे। ‘यही कार्यालय हो,’ उनी भन्छन्, ‘५–६ दिनमा पनि नहुने काम आधा घन्टामै भएको छ। गरे हुने रहेछ।’युवा फेरि वैदेशिक रोजगारीमा जान लागेका हुन्। उनको अनुभव यसअघि श्रम स्वीकृति लिँदाभन्दा सुखद् रहेको छ। ‘युएईका लागि पुनः श्रम स्वीकृति लिन यहाँ आएको हुँ,’ उनले भने, ‘घरबाटै सबै कागजात बोकेर आएको थिएँ।

फारम भरेर चाहिने मेरो कागजात पनि सबै बुझाएँ। धेरै समय नै लागेन, आधा घण्टामै श्रम स्वीकृति लिएँ।’ उनले भने, ‘अहिले विदेश जाने सबैले घरै बसेर अनलाइनमार्फत श्रम स्वीकृति लिने भएर होला, वैदेशिक रोजगार कार्यालय पूरै खाली छ। म भने अनलाइनबाट श्रम स्वीकृति लिन अप्ठेरो लाग्ने भएर यहाँ आएको। एकैछिनमा काम भयो। यहाँ फारम भर्न नसक्दा कर्मचारी पनि खटाइदिएको रहेछ। उहाँले सबै गरिदिनुभयो।’

‘आजै टोकन लियो, आजै श्रम स्वीकृति पनि। अहिले त भर्खरै टोकन लिएर श्रम स्वीकृति लिन मिल्छ। श्रममन्त्रीले गरेका निर्णयमा कार्यालयका कर्मचारीहरू आज्ञाकारी भएर काम गरिरहेका छन्। यसरी श्रम स्वीकृतिको काम सहजै भएसँगै वैदेशिक रोजगारीको क्रममा ठगीको कार्य पनि ठप्प भए हुन्थ्यो,’ उनले भने।

पूर्वघोषणाअनुसार वैदेशिक रोजगार तथा श्रम कार्यालयहरूले घन्टाभरमै श्रम स्वीकृति दिइरहेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घन्टाभित्र श्रम स्वीकृति दिनेगरी निर्देशन गरेअनुसार वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा सुधार आएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

Ads

सम्बन्धित पोष्टहरू