काठमाडौँ, स्वदेशी वस्तु निर्यातमा सरकारले दिँदै आएको नगद अनुदान रकम अभाव भएको छ । चालु आर्थिक वर्षका लागि विनियोजन गरेको ९० करोड रुपियाँ वितरण गरिसकेकाले थप अनुदान वितरण गर्न रकम अभाव भएको हो ।
चालु आवको बजेटमार्फत विनियोजन गरिएको सो रकम मङ्सिर महिनामै सकिएपछि हाल वितरण कार्यसमेत रोकिएको उद्योग विभागले जनाएको छ । विभागले तीन महिनाअघि निर्यातमा नगद अनुदान वितरण गर्न अर्थ मन्त्रालयसँग एक अर्ब १० करोड रुपियाँ माग गरे पनि निकासा नहुँदा हाल वितरण कार्य रोकिएको छ ।
उद्योग विभागका सूचना अधिकारी अर्जुनसेन ओलीले थप माग गरिएको रकम निकासा नभएकाले निर्यातमा दिँदै आएको अनुदान वितरण गर्न नसकिएको बताए। यो वर्षका लागि छुट्याएको रकम वितरण भइसक्यो, उनले भने, “निर्यातमा अनुदान उपलब्ध गराउने उत्पादनका क्षेत्रहरू थप गरिएकाले पनि रकम अभाव भएको उनको भनाइ छ ।
विभिन्न ३६ वटा उत्पादन निर्यातमा नगद अनुुदान उपलब्ध गराउँदै आइएको छ । सरकारले निर्यात प्रवर्धनमार्फत मुलुकको व्यापार घाटा न्यूनीकरण गर्दै अर्थतन्त्र सबल बनाउन नेपालबाट निर्यात हुने हस्तकला, सिमेन्ट, कृषिजन्य उत्पादन, चिया, पस्मिना, प्लाइउडलगायतका वस्तुको निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदानको व्यवस्था गर्दै निर्यात प्रोत्साहन गराउँदै आएको छ । सामान निर्यात गर्ने उद्योगी व्यवसायीलाई राष्ट्र बैङ्कमा अनुदान रकम वितरण गर्दै आएको छ । स्वदेशी वस्तुको निर्यात बढाएर व्यापार घाटा न्यूनीकरण गर्न निर्यात हुने वस्तुमा आठ प्रतिशतसम्म नगद अनुदानको व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्