Ads

लुम्बिनीमा ४ सदस्यीय मन्त्रिपरिषद गठन


काठमाडाैँ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले चार सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका छन् ।

शुक्रवार मुख्यमन्त्री पदको शपथ लिएसँगै महराले तीन जना मन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री महराको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमालेबाट चेतनारायण आचार्य र नेकपा माओवादी केन्द्र दीपेन्द्र पुन मगर र जनता समाजवादी पार्टी (जसपा)बाट भण्डारीलाल अहिरलाई शपथ ग्रहण गराए ।

आचार्य अर्घाखाँचीका, पुन रोल्पा र अहिर बाँकेका हुन् । उनीहरूको जिम्मेवारी तोकिएको छैन । मुख्यमन्त्रीले आइतवार नै दाङको देउखुरीस्थित कार्यालय पुगेर पदभार ग्रहण गर्नेछन् ।

मुख्यमन्त्री महरालाई एमाले, जसपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसदको समर्थन छ । उनीहरुलाई पनि मन्त्री बनाउने तयारी छ ।

१० मन्त्रालय रहेको लुम्बिनीमा बढाउने तयारी भइरहेको छ । ४८ सांसदको समर्थनसहित महरा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छन् ।

सरकारलाई एमाले, माओवादी, जसपा, नागरिक उन्मुक्ति पार्टी (नाउपा), नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदको समर्थन रहेको छ ।

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादी (सभामुख सहित) ११, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्तिका ४/४, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ३/३, स्वतन्त्र, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका १/१ जना सांसद छन् । लुम्बिनीमा १० राजनीतिक दलको प्रतिनिधित्व छ ।

Ads

सम्बन्धित पोष्टहरू