खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३० वर्षीय भक्तबहादुर विश्वकर्मा दृष्टिविहीन छन्। दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलमा इपिएम एजुकेसन म्यानेजमेन्ट प्लानमा स्नातकोत्तर अध्ययनरत विश्वकर्मा शिक्षक सेवा आयोगले लिएको प्राथमिक तह तृतीय श्रेणीको परीक्षामा खुला, दलित र अपाङ्ग गरी तीनवटा समूहमा नाम निकाल्न सफल भएका छन् ।
पहिलोपटक शिक्षक सेवा आयोगको परीक्षा दिएका विश्वकर्माले शिक्षा विकास तथा समन्वय एकाइबाट मङ्गलबार नियुक्तिपत्रसमेत बुझिसकेका छन् । आठ वर्षको उमेरमा आँखाको ज्योति गुमाएका विश्वकर्मा स्थायी शिक्षकमा नाम निकालेर नगरपालिकामा सिफारिस भएका छन् ।
कक्षा १० मा अध्ययनरत नवराज भट्टराईलाई लेखक सहयोगी राखेर परीक्षा दिनुभएका विश्वकर्मा दोस्रो पेपरमा एक सय १० जनाले परीक्षा दिएकामा ७८ जना उत्तीर्ण हुँदा ४९औँ नंमा नाम निकालेका थिए । अरूले पढेर सुनाएको भरमा शिक्षा सेवा आयोगको परीक्षा उत्तीर्ण गरेका दिक्तेलस्थित सुर्केडाँडा आधारभूत विद्यालय बाम्राङमा सिफारिस हुने निश्चित भएको छ ।
विसं २०६९ मा आफ्नै गाउँ खार्मीस्थित कालिका माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका विश्वकर्मा दुई वर्षअघिदेखि दिक्तेल इङ्ग्लिस बोर्डिङ स्कूल दिक्तेलमा सङ्गीत शिक्षकका रुपमा कार्यरत छन् । विसं २०६५÷६६ र ०६७ सालसम्म तीन वर्ष श्री सङ्गीत पाठशाला डिल्लीबजार काठमाडौँमा बसेर सङ्गीत सिक्नुभएका अहिले साइनो कला केन्द्र, खोटाङका अध्यक्ष छन् ।
विसं २०७१ देखि सङ्गीतमा लागेका विश्वकर्माका छवटा गीत रेकर्ड पनि भएका छन् । गीतसङ्गीतसँगै अध्ययनलाई समेत निरन्तरता दिँदै आउनुभएका विश्वकर्मा दृष्टिविहीन भएर पनि शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेर स्थायी शिक्षक हुनुले धेरैका लागि प्रेरणाका स्रोत बनेका छन् ।
कक्षा–८ मा अध्ययन गर्दै गर्दा वैवाहिक जीवनमा बाँधिएका विश्वकर्माको श्रीमतीसहित एक छोरा र एक छोरी छन् । वाद्यवादनमा समेत उत्तिकै दखल राख्ने विश्वकर्माले साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाकी वेदना राईसँग १२ वर्षअघि अन्तरजातीय विवाह गरेका हुन् ।
आँखामा दृष्टि नभए पनि व्याख्यान, प्रश्नोत्तर र छलफल विधिबाट कक्षा शिक्षण गर्ने विश्वकर्माले बताएका छन् । “घरमा पूर्वतयारी गरेर कक्षामा प्रवेश गर्छु । कक्षामा विद्यार्थीलाई पाठ वाचन गर्न लगाएर पनि सिकाउने छु”, उनले भने, “मसँग ट्युसन पढाएको अनुभव पनि छ । जस्तै बोटबिरुवाको विषयमा पढाउने हो भने बोटबिरुवा लगेर जरा, काण्ड, पात, फूललगायत देखाएर पढाउन सकिन्छ ।”
विश्वकर्मा आठ वर्षको उमेर हुँदा टाउकोमा आएको पिलोका कारण दृष्टिविहीन भएको पारिवारिक स्रोतले बताएको छ । स्वास्थ्यचौकी बाक्सिलामा गएर पिलो फुटाउने क्रममा आँखाको नसा बिग्रेका कारण आफूले ज्योति गुमाएको विश्वकर्माको भनाइ छ ।
उता, केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका दृष्टिविहीन उमेश राई र उनकी श्रीमती सूर्यमायाँ लिम्बूले पनि विश्वकर्मासँगै स्थायी शिक्षकमा नाम निकालेका छन् । उनिहरु दुवैजनाले शिक्षा विकास तथा समन्वय इकाइको कार्यालय खोटाङबाट सोमबार नियुक्तिपत्र बुझेका छन् ।
जन्मजात दृष्टिविहीन राई दम्पतीले मङ्गलबार केपिलासगढी गाउँपालिकाबाट पदस्थापना पत्रसमेत लिइसकेका छन् । राई केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित शुक्रजित मावि र लिम्बू केपिलासगढी गाउँपालिका–३ बास्पानीको मनोकामना आधारभूत विद्यालयमा सिफारिस भएका छन् ।
स्थायी शिक्षकमा नाम निकाल्न सफल दृष्टिविहीन राई दम्पती दुवैजनाले सहयोगी राखेर परीक्षा दिएका थिए । राई एक वर्षदेखि भगवती मावि बेलबारीमा मावि राहतमा शिक्षकमा कार्यरत थिए । उनकी श्रीमती लिम्बू भने हालसम्म पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयमा अध्यापन गरिरहेका थिए। खोटाङबाट धरान झरेका राई र बराहक्षेत्र नगरपालिका चक्रघट्टी, सुनसरी निवासी लिम्बूबीच २०७७ सालमा विवाह भएको थियो ।
राई आँखाको उपचारका सिलसिलामा बाल्यवस्थामै धरान झरेको सुनाउ छन् । धरानमा राईको आँखाको ज्योति फर्किएन तर धरानले उचित शिक्षादीक्षा दिलाएको थियो । स्थायी शिक्षकमा नाम निस्केपछि राई श्रीमतीसहित गाउँ फर्किएका छन् ।
दृष्टिविहीन विश्वकर्मा र राई दम्पतीको सफलताले सपाङ्ग व्यक्तिका लागि चुनौती थपिएको छ । मेहनत गर्नेका लागि सफलता चुम्न शारीरिक अपाङ्गताले नछेक्ने विश्वकर्मा र राई दम्पतीको सफलता उदाहरणीय बनेको छ ।
गत जेठ २० गते पहिलो पेपर, असोज १३ गते दोस्रो पेपरको लिखित परीक्षा तथा फागुन २९ गतेको अन्तर्वार्ता भएको शिक्षक सेवा आयोगको परीक्षामा विश्वकर्मा र राई दम्पतीसँगै ७८ जना स्थायी शिक्षक भएका छन् । दश स्थानीय तह रहेको जिल्लामा ९२ जना माग भएकामा ७८ जनाले मात्र नाम निकाल्न सफल भएका छन् ।
प्रतिक्रिया दिनुहोस्