काठमाडौं । मुस्लिम समुदायको धार्मिक पर्व ईद–उल फित्र (ईद)को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दछु । भाइचारा र पारिवारिक मिलनको रुपमा मनाइने इद पर्वले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई सुदृढ गर्न मद्दत गरेको विश्वास समेत लिएको छु ।
हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधतायुक्त मुलुक हो । नेपालको संविधानले प्रत्येक व्यक्तिलाई आफ्नो धर्मको अवलम्बन र अभ्यास गर्ने अधिकारको व्यवस्था गरेको छ । कुनै पनि नागरिकलाई उसको धर्म वा आस्थाका आधारमा विभेद नगर्ने र राज्यका सबै नीतिमा समानता कायम गर्ने संविधानको लक्ष्य छ ।
नेपाली मुस्लिम समुदायले राजनीतिक आन्दोलन र मुलुक निर्माणका ठूलो योगदान गर्दै आउनुभएको छ । त्यसकै प्रतिफलस्वरुप मुस्लिम समुदायलाई अगाडि बढाउन संवैधानिक आयोगको व्यवस्था गरिएको स्मरण गर्न चाहन्छु ।
विभिन्न जातजातिले आ–आफ्ना चाड पर्वहरूमा सबै जाति र समुदायको उपस्थितिमा मनाएर धार्मिक–साँस्कृतिक एकतामा अभूतपूर्व नमुना पेस गरेका छन् । यसले एक अर्काको सद्भावलाई बढाएको छ । इतिहासदेखिकै नेपाली एकता र विश्वास आगामी दिनमा अझै उचाइमा पुग्ने विश्वास लिएको छु ।
अन्त्यमा, ईद–उल फित्र (ईद)ले नेपालीबीच एकता, पारस्पारिक मेलमिलाप, भाइचारा सम्बन्ध विकासमा प्रेरणा प्रदान गरोस् भन्ने कामना सहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।
प्रतिक्रिया दिनुहोस्