Ads

गण्डकीमा मन्त्रालय टुक्र्याएर नौ बनाउने निर्णय


काठमाडाैँ । गण्डकी प्रदेश सरकारले मन्त्रालय थप्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको मन्त्रिपरिषद्को मंगलबारको बैठकले मन्त्रालय बढाएर ९ पुर्‍याउने निर्णय लिएको हो । गण्डकीमा यसअघि ७ मन्त्रालय थियो ।

मन्त्रिपरिषद्को मंगलबारको बैठकले मन्त्रालय टुक्र्याएर स्वास्थ्य र आन्तरिक मन्त्रालय बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा विनाविभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिए ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्रीसँग आन्तरिक मन्त्रालय बेग्लै बनाउने निणर्य भएको सरकारका प्रवक्ता चुमानले सुनाए ।

यसअघि खगराज अधिकारी नेतृत्वकै सरकारले अघिल्लो वर्षको पुसमा प्रदेशमा रहेको १२ मन्त्रालयलाई घटाएर ७ मन्त्रालय बनाउने निर्णय गरेको थियो । अहिले सरकारलाई बहुमत पुग्न कठिन देखिएपछि मुख्यमन्त्री अधिकारीले भागबन्डा पुर्‍याउन दुई मन्त्रालय बढाउने निर्णय लिएका हुन् ।

सभामुखको हस्ताक्षरसहित बहुमत पुर्‍याएर सरकार बनाएको विषयमा गण्डकी कांग्रेसले दायर गरेको रिटमा सर्वोच्च अदालतले बुधबार खगराज अधिकारी नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश दिएको छ । मन्त्रालय थप्ने निर्णय भने मंगलबारको भएको प्रवक्ता चुमानले बताए ।

Ads

सम्बन्धित पोष्टहरू