Ads

संसद् अधिवेशन अन्त्य गरेर सरकार भागेको कांग्रेसको निष्कर्ष


काठमाडाैँ । नेपाली कांग्रेसले सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग सम्बोधन गर्नुको साटो संसद अधिवेशन अन्त्य गरेर सरकार भागेको निष्कर्ष निकालेको छ ।

आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सरकार जवाफदेहिताबाट भागेर गैरजिम्मेवारीपूर्वक प्रस्तुत भएको निष्कर्ष निकालेको हो । बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकार जवाफदेही बन्नुको साटो तानाशाही बन्न खोजेको निष्कर्ष बैठकले निकालेको बताए ।

उनले संसद्मा आफूहरूले सहकारीमा बचत भएको रकम हिनामिना, अपचलन, दुरुपयोग र ठगी भएको विषय उठाउँदै आएको र सत्तापक्षकै कतिपय सांसदहरूले समेत विपक्षीका मागमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएको बताए । जनताले जम्मा गरेको अर्बौँ रकम हिनामिना र ठगी भएको जनविरोधी कार्यमा सरकारका मन्त्री संलग्न रहेको पुष्टि स्वयं सरकारले नै गरेको समेत उनले दाबी गरे ।

प्रमुख सचेतक लेखकले हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयको कांग्रेसले घोर भत्र्सना गरेको भन्दै सरकारलाई संसदीय मूल्य मान्यता र अलोकतान्त्रिक काम नगर्न चेतावनी दिए ।

उनले बजेट अधिवेशनका लागि पर्याप्त समय हुँदाहुँदै पनि अधिवेशन अप्रत्यासित रूपमा अन्त्य भएको भन्दै कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जानकारी दिए । प्रतिपक्षको अवरोधका कारण संसद् चल्न नसकेको भन्ने सत्तापक्षको तर्क लज्जास्पद रहेको भन्दै लेखकले सरकारको तानाशाही प्रवृत्तिका कारण आफूहरूले दुई दिनमात्रै संसद् अवरोध गरेको र यसको जिम्मा सरकारले लिनुपर्ने बताए ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले आइतबार मध्यराति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू