Ads

कांग्रेस आक्रोश र पीडाले मनलाग्दी बोलिराखेको छः अध्यक्ष ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस आक्रोश र पीडाले मनलाग्दी बोलिराखेको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले प्रतिनिधि सभाको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुनु स्वभाविक भएको बताए ।

उनले हिउँदे अधिवेशन र बजेट अधिवेशनका बीचमा कम्तिमा १५ दिनको ग्याप राख्नुपर्ने भएकाले बजेट अधिवेशनको तयारी स्वरुप हिउँदे अविधेशनको अन्त्य गर्नुपरेको बताएका हुन् । उनले हिउँदे अधिवेशन अन्त्यको सन्दर्भमा नेपाली कांग्रेसले आक्रोश र पीडाले मनलाग्दी ‘जे पायो त्यही’ बोलिरहेको बताए ।

संसद पुराना अनुभवहरु लिएर चल्नुपर्ने भन्दै संसदीय प्रणालीलाई रक्षा गर्नुपर्ने उनले बताए । उनले कांग्रेस ढिपी र जिद्दीमा जाने गरेको भन्दै यस्तो तरिकालाई कांग्रेसले सच्याउनुपर्ने बताए । कांग्रेसले संयमित ढंगले विधि अन्तर्गत समाधान खोज्नुपर्ने बताए ।

उनले भने,’अहिले अधिवेशन अन्त्य गरेन भने बजेट अधिवेशन, नीति, कार्यक्रम, प्रि बजेट डिस्कसन आदिको कुराहरु, बजेटको तयारी, प्रश्तुति, विभिन्न विधेयकहरुको तयारी छलफल अनि यो अल्झिएर मात्रै बस्नेकुरा त भएन । अहिले ठिकै हो । ढिपी, जिद्दीमा जानुहुन्छ । कांग्रेसको तरिका उहाँहरुले सच्याउनुपर्छ मैले देखेको । यसमा आवेश, उत्तेजनाको काम छैन । जनतालाई त्यति साह्रो परेको छैन । जति काँग्रेसलाई परेको छ । कांग्रेसको साह्रो गाह्रोले गर्दा यस्तो भइराखेको हो । संयमित ढंगले विधि अन्तर्गत समाधान खोज्नुपर्छ ।’

अध्यक्ष ओलीले प्रतिनिधि सभाबाट विधेयक पारित गर्न अघिल्लो सरकारले ध्यानै नदिएको बताए । उनले वर्तमान सरकार भर्खर आएकाले धेरै विधेयकहरु परित गर्न नसकेको बताएका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू