काठमाडौ\ पछिल्लो एक वर्षमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या सात लाख नाघेको छ । वैदेशिक रोजगार विभागका अनुसार २०८० को वैशाखदेखि चैत महिनासम्म सात लाख ११ हजार ३५१ जना श्रम स्वीकृति लिएर विदेश गएका छन् ।
त्यसो त अघिल्लो वर्ष २०७९ चैतदेखि वैशाख महिनासम्म श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या सात लाख ७३ हजार २४२ हजार थियो । जुन सङ्ख्या २०८० सालको भन्दा २०७९ सालमा श्रम स्वीकृति लिनेको सङ्ख्या ६१ हजार ८१९ जनाले बढी हो । वैदेशिक रोजगार विभागका अनुसार २०७८ सालमा भने साढे पाँच लाख जना युवाले श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश गएका थिए । यो तथ्याङ्क हेर्दा पछिल्लो दुई वर्षमा रोजगारीका लागि बिदेसिनेको सङ्ख्या बढेको पुष्टि हुन्छ । विभागका अनुसार यो वर्षको सो अवधिमा सबैभन्दा धेरै चैत महिनामा ७० हजार ९३३ जना र सबैभन्दा कम कात्तिकमा ४३ हजार ६२२ जना विदेशिएका छन् ।
यस्तै जेठ महिनामा ५९ हजार ४२२ जनाले श्रम स्वीकृति लिएका छन् भने असारमा ५५ हजार २९९ जना, साउनमा ५५ हजार ५७५ जना गएको विभागको प्रतिवेदनमा उल्लेख छ । विभागका अनुसार भदौमा ५० हजार ८८४ जनाले विदेश जान श्रम स्वीकृति लिएकोमा असोज महिनामा ५६ हजार २३५ श्रम स्वीकृति लिएर विदेशिएका छन् । यसरी नै मङ्सिरमा ६८ हजार २०१ जना, पुस महिनामा ६५ हजार ८१३ जना, माघ महिनामा ६२ हजार १४७ जना र फागुनमा ६५ हजार ६५८ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।
युएई पहिलो श्रम गन्तव्य
२०८० सालमा नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स (युएई) भएको छ । विभागका अनुसार सो अवधिमा सात लाख ११ हजार ३५१ जनाले श्रम स्वीकृति लिएकोमा युएईका लागि लागि एक लाख ६३ हजार ७६८ जनाले श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्ष लगातार तेस्रो श्रम गन्तव्य देश रहेको युएई यो वर्ष भने सुरुदेखि नै पहिलो श्रम गन्तव्य बन्न सफल भएको छ । यस अवधिमा नेपालीको दोस्रो श्रम गन्तव्य देश कतार रहेको छ । विसं २०७९ मा नेपाली श्रमिकको चौथो श्रम गन्तव्य देशका रूपमा रहेको कतार यो वर्षको तथ्याङ्क हेर्दा दोस्रो स्थानमा छ । अघिल्लो वर्ष नेपालीको पहिलो श्रम गन्तव्य देश भएको मलेसिया यो वर्षमा भने चौथो स्थानमा छ । यस्तै गत वर्ष सो अवधिमा नेपालीको दोस्रो श्रम गन्तव्य देश रहेको साउदी अरब यो पटक भने तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्