Ads

वामपन्थी एकताको कुराले न सरकार बन्छ न देश : ओली


काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकता आजको आवश्यकता नभएको बताएका छन्।

संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा सोमबार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले अहिले सुशासन, राष्ट्रिय एकताको पक्षमा काम गर्ने शक्तिहरूबीचको सहकार्य आवश्यक रहेको बताए।

‘वामपन्थी एकता भन्ने कुराले न सरकार बन्छ, न देश चल्छ। सरकार बन्दैन,’ उनले भने।

साथै, उनले पार्टी बिगार्ने र अवसरको मात्रै खोजी गर्नेहरूलाई एकतामा समावेश नगर्ने पनि बताए।

‘परेको बखतमा एकता गर्छौँ पनि। छर छानेर। पार्टी बिगार्ने र अवसरको खोजीका लागि लाग्ने, आन्दोलनको हित नहुनेगरी काम गर्नेलाई सहभागी गराउँदैनौँ,’ ओलीले भने।

ओलीले प्रधानमन्त्री बन्ने कुरा ठूलो नभएको भन्दै कुर्सीका लागि लड्न नहुने पनि बताए।

‘प्रधानमन्त्रीको कुरा चलेको छ। त्यसबेलै मैले प्रधानमन्त्रीमा आफ्नो रुचि नभएको, प्रधानमन्त्रीको पद ठूलो कुरा होइन। महत्त्वपूर्ण कुरा पनि हो। यतिबेला के गर्दा अनुकुल वातावरण बन्छ, देश ओरालो लागिरहेको छ हामी प्रधानमन्त्रीको कुर्सीका लागि लडिरहन्छौँ भने त्यो राम्रो होइन,’ ओलीको भनाइ छ।

मन्त्रालयको विषयमा अडिनु अहिलेको हाम्रो अभिभारा नभएको ओलीको भनाइ थियो। ‘अहिले अनुचित देशका लागि हानिकारक कामका लागि रोक्नु मुख्य कुरा हो,’ ओलीले भने।

Ads

सम्बन्धित पोष्टहरू