Ads

कोशी प्रदेशलाई खोरेतमुक्त बनाइँदै


विराटनगर । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले आगामी तीन वर्षभित्रमा कोशी प्रदेशलाई खोरेतमुक्त प्रदेश बनाउने घोषणा गरेका छन् ।

झापाको भद्रपुरमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको भवनको उद्घाटन समारोहमा मन्त्री खत्रीले सो घोषणा गरेका हुन् । उनले प्रदेशका १४ जिल्लामध्ये छ जिल्लामा अझै पशुसम्बन्धी भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र नरहेको जानकारी दिँदै ती जिल्लामा भवन निर्माणका लागि आफूले पहल गर्ने बताए ।

कृषि मन्त्रालयले अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै ‘पढ्दै कमाउँदै गर्ने’ कार्यक्रम पनि ल्याउने, घरेलु मदिरा ब्राण्डिङ गर्ने र टुक्रे योजना नल्याउने घोषणा गर्दैै उनले प्रदेश सरकारको लगानीमा झापाको भद्रपुरमा रु एक करोड ७१ लाख ८७३ को  भवन निर्माण भएको बताए ।

पशुमा लाग्ने भाइरसजन्य खोरेत रोगका कारण दूधजन्य वस्तु निर्यातमा अवरोध भइरहेको बेला कोशी प्रदेश सरकारले भने यसको नियन्त्रणका लागि ‘महाअभियान’ सञ्चालन गर्ने तयारी गरेको थियो । सोही योजनाअनुसार तीन वर्षमा प्रदेशलाई खोरेत मुक्त गर्ने मन्त्री खत्रीले घोषणा गरेका हुन् ।

२५ देशमा छुर्पी निर्यात
मन्त्री खत्रीले हाल कोशी प्रदेशबाट विश्वका २५ मुलुकमा छुर्पी निर्यात भइरहेको जानकारी दिनुभयो । “कोशी प्रदेशबाट वार्षिक रु सात अर्बभन्दा बढीको छुर्पी र रु सात अर्ब बराबरको चिज विदेश निर्यात भएकोले यो क्षेत्रलाई सुरक्षित गर्नु अनिवार्य देखिएको छ,’ मन्त्री खत्रीले भन्नुभयो, “यसले कृषि र पशुपालन क्षेत्रमा धेरै ठूलो क्रान्ति गर्न सकिन्छ ।”

खोरेत नियन्त्रणको लागि सञ्चालन गर्ने तीन वर्षे अभियानका लागि रु ६० करोड खर्च हुने कृषि मन्त्रालयले अनुमान गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू