सिरहा । विभिन्न वनस्पतिका रेसाबाट बनेका आकर्षक ढकी, थाकलबाट बनेका घरायसी सामग्रीले आगन्तुकको ध्यान तानेका छन् । यहाँ सुरु भएको लहान एक्सपोमा राखिएका यी सामग्री सिरहाको लहान नगरपालिका-१ कि पार्वतीकुमारी चौधरीले बनाएकि हुन्। एकसट्ठी वर्षिय चौधरीले स्थानीय कच्चा पदार्थ प्रयोग गरी आफैले बनाएको सामग्री महोत्सवमार्फत बिक्री गरिरहेकी छिन् । जसलाई आगन्तुकले मन पराइदिएको उनले सुनाइन् ।
‘समृद्धिको आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ गत चैत ३० गतेदेखि यहाँ जारी ‘लहान एक्सपोः मधेस प्रदेश अन्तर्राष्ट्रिय महोत्सव २०८०’मा स्थानीय उत्पादनमा अवलोकनकर्ताको रुचि देखिएको हो ।
जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहाको आयोजनामा जारी महोत्सवकै कारण आफूले उत्पादन गर्दै आएका घरायसी सामग्रीका प्रदर्शन र विक्री गर्न पाएकोमा चौधरी खुसी छन् । “सोचेजति व्यापार त भएन, तर सुरुआती दिनभन्दा क्रमश व्यापार वृद्धि भइरहेको, धेरैले मन पराइदिएकी छिन्”, चौधरीले भनिन्, “तीन दशकदेखि यही पेशाले घर खर्च चलेको छ । महोत्सवबाट थप हौसला मिलेको छ ।” महोत्सवमा टाढा–टाढाबाट पनि ग्राहक आएकाले आगामी दिनमा व्यापार अझ बढ्ने उनको भनाइ छ । आफ्ना उत्पादन सबैलाई देखाउन, बिक्री गर्न तथा प्रचार–प्रसार गर्न सहज भएको उनको भनाइ छ ।
महोत्सवमा विभिन्न रैथाने परिकारको कक्ष राख्नुभएका लहान—८ का जानुका पराजुली र संगीता चौधरीले भने आफूहरुले सोचेभन्दा राम्रो व्यापार भएको बताइन् । उनिहरुले चामलको पीठो, मासको दाल, बन्दागोभी, सुपको दाल, मुला र लप्सीबाट बनेका बिभिन्न परिकारहरु प्याकिङ्ग गरेर राखेका छन् ।
गाउँघरबाट सङ्कलन गरिएका सामग्रीलाई व्यावसायिक रुप दिई आर्थिक उपार्जनसँग जोडिएको जानुका पराजुलीले सुनाइन् । त्यस्तै लप्सी र टमाटरको अचारले पनि ग्राहकको मन जितिरहेको पराजुलीले बताइन् ।
“मधेसको पहिचान झल्कने रैथाने परिकारहरु उत्पादन गरिरहेका छौँ । हाम्रा उत्पादनलाई ग्राहकहरुले धेरै मन पराइदिएका छन् । सोचेभन्दा राम्रो बिक्री भइरहेको छ”, पराजुलीले भनिन्, “अहिले दिनमा औसतमा रु चार हजारसम्मको व्यापार भइरहेको छ ।” उनले महोत्सव सकिएपछि पनि लहानचोकको दक्षिणतर्फ रहेको ‘मटिहर्वा कम्पेक्स’मा सटर भाडामा लिएर ‘कोसेली घर’ सञ्चालन गर्ने योजना रहेको सुनाइन् । महोत्सवमा आयोजकले निःशुल्क रुपमा प्रदर्शनी कक्ष उपलब्ध गराएको पनि उनले जानकारी दिइन्\ ।
महोत्सवबाट आफ्ना उत्पादन सबैलाई देखाउन, बिक्री गर्न तथा प्रचार–प्रसार गर्न सहज भएको सङ्गीता चौधरीको भनाइ छ । “गाउँमा एउटै ठाउँका मानिसले मात्रै अवलोकन गर्छन् । यहाँ विभिन्न ठाउँबाट मानिसहरू आएर अवलोकन गर्दा खुसी लाग्छ । व्यापार पनि राम्रो भएको छ”, चौधरीले भनिन्, “यस्ता महोत्सवले व्यापारमा हौसला थपेको छ ।” चौधरीका अनुसार महोत्सवमा आउने आगन्तुक स्थानीय उत्पादनमा लोभिएका छन् ।
स्थानीय मौलिक एवं रैथाने उत्पादनको प्रवर्द्धनका लागि सम्बन्धित कक्षहरु निःशुल्क उपलब्ध गराइएको आयोजक जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहा, लहानका अध्यक्ष विकास सारडाले बताए । “मधेसको पहिचान झल्कने परम्परागत उत्पादन तथा परिकारको चिनारी दिलाउन र उद्यमीलाई पनि प्रोत्साहन गर्ने उद्देश्यले उनिहरुलाई निःशुल्क कक्ष उपलब्ध गराइएको हो । जसअन्तर्गत कृषि तथा घरेलुतर्फ २० वटा प्रदर्शनी छन्”, अध्यक्ष सारडाले भने । उनले प्याकेजिङमा सुधार गर्दै नेपाली उत्पादनको बजारीकरण गरी व्यवसायिक रुप दिन आवश्यक रहेको बताए ।
त्यसैगरी महोत्सवले मौलिक उत्पादन, संस्कृति र मौलिक परिकारहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न सहयोगी बन्ने विश्वास उनले व्यक्त गरे। मधेस प्रदेशस्तरीय महोत्सवमा विराटनगर, वीरगञ्ज, काठमाडौँदेखि छिमेकी राष्ट्र भारत र बङ्गलादेशसम्मका लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ता सहभागी भएको अध्यक्ष सारडाले जानकारी दिए । उनका अनुसार महोत्सवमा कूल एक सय २१ वटा प्रदर्शनी कक्ष छन् ।
महोत्सव आयोजना गर्न करिब रु एक करोड ५० लाख खर्च भएको र महोत्सवभर करिब रु दुई करोड बराबरकोे व्यापार हुने अनुमान गरिएको उनले बताए । “अहिले एक त आर्थिक मन्दीको समय छ । यस्तो बेलामा व्यवसायीको आत्मबल अभिवृद्धि गर्न र व्यावसायिक क्षेत्रलाई चलायमान बनाउन पनि यो महोत्सव आयोजना गरिएको हो”, उनले भने, “यसबाट व्यापारसँगै स्थानीय उत्पादन प्रवर्द्धन गर्नु मुख्य उद्देश्य हो ।”महोत्सवमा प्रत्येक साँझ विभिन्न कलाकारको प्रस्तुति समेत रहने गरेको छ । महोत्सव आगामी वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्