Ads

जनता आवास कार्यक्रमः तनहुँमा त्रियासी घर निर्माण


तनहुँ । जनता आवास कार्यक्रमअन्तर्गत तनहुँमा दुई सय ८६ मध्ये ८३ वटा घर निर्माण सम्पन्न भएका छन् । सूचिकृत भएकामध्ये एक सय ८० जनाले तेस्रो, १२ जनाले दोस्रो र ११ जनाले पहिलो किस्ता लिएर सम्पर्कविहीन रहेका जिल्लास्थित पूर्वाधार विकास कार्यालय जनाएको छ ।

तेस्रो किस्ता लिएका एक सय ८० जनाले घर निर्माण गरे पनि शौचालय निर्माण नगरेका कारण चौथो अन्तिम किस्ता भुक्तानी रोकिएको कार्यालय प्रमुख कृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु ७० लाख बजेट विनियोजन भएकामा हालसम्म रु ६६ हजार पाँच सय मात्र खर्च भएको छ ।

योजनामा रहेका सबै घर सम्पन्न गर्न रु एक करोड नौ लाख बजेट आवश्यक पर्ने देखिएको कार्यालय प्रमुख आचार्यले बताए । उनका अनुसार सहरी विकास तथा भवन निर्माणसम्बन्धी चारवटा योजना रहेको छ । तीनवटा निर्माणाधीन अवस्थामा र एउटा ठेक्का प्रक्रियाको चरणमा रहेको उहाँले जानकारी दिए ।

चालु आवमा तनहुँमा १६ योजना कार्यान्वयनमा आउन सकेका छैनन् । योजनाको नाम फरक परेका, विवाद भएका र बजेट सुनिश्चित नभएका योजना कार्यान्वयनमा नआएका प्रमुख आचार्यले बताए । “सडक योजना आठ र झोलुङ्गे पुल आठवटाको निर्माण रोकिएको छ”, उनले भने, “गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेका दुई सय ९५ योजनामध्ये ११ वटा योजना सम्पन्न भएका छन् ।”उनका अनुसार साउनदेखि चैतसम्म नौवटा मोटर मार्गको स्तरोन्नति र दुईवटा गाडी गुड्ने पक्की पुल निर्माण सम्पन्न भएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू