Ads

एकै मञ्चमा पन्ध्र जोडीले गरे सामुहिक विवाह


विराटनगर । विवाह, ब्रतबन्ध तथा अरु थुप्रै सामाजिक कार्यक्रम भइरहने विराटनगरको अतिथि सदनमा बिहीबार गाउँतिरबाट आएका आदिवासी समुदायका मानिसहरुको बाक्लो उपस्थिति थियो । धेरैजना जहदा गाउँपालिकाका विभिन्न टोलबाट त्यहाँ भेला भएका थिए । उपस्थितमध्ये कोही जन्तीका रुपमा आएका थिए भने कोही कन्यादान गर्न उपस्थित थिए ।

अतिथि सदनमा विवाहका लागि ठूलो पण्डाल टाँगिएको थियो । बाजागाजासहित विवाहको माहोलमा सबै रमाइरहेका थिए । सतार समुदायको सांस्कृतिक टोलीले बाजा बजाइरहेको थियो भने महिलाहरु सांस्कृतिक नाचमा मग्न थिए । विवाहस्थलको झकिझकाउ हेर्दा लाग्थ्यो त्यहाँ उच्च आर्थिक हैसियत भएको कुनै परिवारको विवाह भइरहेको छ । त्यहाँ तयार पारिएका भब्य द्वारदेखि मञ्चको अवस्थाले पनि त्यस्तै महशुस हुन्थ्यो । विवाहस्थलमा भब्य मञ्च र परिसरमा १५ वटा मण्डप थिए । जहाँ पन्ध्र जोडी युवाहरुको छुट्टाछुट्टै मण्डपमा आ–आफ्नो संस्कृतिअनुसार विवाह भइरहेको थियो ।

मण्डपमा सन्थाल समुदायका १३, चौधरी र राजवंशी समुदायका एक÷एक जोडीको विवाह गरिएको थियो । यो सामुहिक विवाहको आयोजना माहेश्वरी मंचले गरेको हो । आर्थिकरुपमा विपन्नहरुलाई छोराछोरीको विवाह पारिवारिक जिम्मेवारीसँगै आर्थिक बोझ उठाउने बाध्यता पनि हो । सामुहिक विवाह कार्यक्रम यो बाध्यताबाट छुटकारा पाउने उपाय हुनसक्छ भन्ने सन्देश दिने उद्देश्यले माहेश्वरी महिला मंचले कार्यक्रम आयोजना गरेको हो ।

मंचले समाजसेवी अर्चना तापडियालाई संयोजक बनाएर सामूहिक विवाह समारोह आयोजना गरेको थियो । तापडियाको सक्रियता र समन्वयले सामुहिक विवाह गर्ने प्रस्तावमा जहदा गाउँपालिका सकारात्मक बनेपछि वडाध्यक्षहरुको सहयोगमा विवाह गर्न योग्य जोडीहरुको खोजी भएको थियो । वडाध्यक्षहरुको सहयोगमा १५ जोडी सामुहिक विवाहका लागि तयार भएका थिए । वर र वधू दुवै पक्षको सहमतिमा उनीहरुलाई विवाह कार्यक्रममा सहभागी गराइएको थियो । विवाह गर्ने सबै २० वर्ष उमेर पूरा गरिसकेका छन् । यसले तराइ क्षेत्रमा बसोवास गर्ने आदिवासीहरुमा व्याप्त बालविवाह गर्ने प्रवृत्तिविरुद्धको जनमत तयार पार्न पनि महत्वपूर्ण सहयोग गर्ने आयोजकको विश्वास छ ।

Ads

सम्बन्धित पोष्टहरू