Ads

कोशी प्रदेश सभाबाट सङ्कल्प प्रस्ताव पारित


काठमाडाैँ । कोशीमा मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा दिलाउन वा विश्वासको मत लिन लगाउने गरी विपक्षी दलहरूले ल्याएको संकल्प प्रस्ताव पारित भएको छ ।

कोशी प्रदेशसभाको विशेष अधिवेशनको शुक्रबार बसेको बैठकले एमाले र माओवादी केन्द्रले ल्याएको संकल्प प्रस्ताव पारित भएको हो ।

यसअघि संकल्प प्रस्तावमाथि छलफलका क्रममा केदार कार्कीले सर्वदलीय सर्वपक्षीय सरकार बनाउन प्रस्ताव गरेका थिए । उनले राजीनामा दिन अस्वीकार गर्दै आफ्नै नेतृत्वमा सर्वदलीय सरकारको प्रस्ताव राखेका हुन् ।

‘म संविधानको मार्गमा हिँड्छु । अर्को कुनै मार्गप्रशस्त गर्दिनँ,’ कार्कीले प्रदेशसभामा भने, ‘त्यसको विकल्पमा सर्वसहमतिको सर्वदलीय सरकार बनाऔं । प्रदेशलाई अनिश्चयको भूमरीमा नपारौं । हनुमानको पुच्छरमा आगो नलगाऔं ।’

केन्द्रीय गठबन्धन हेरफेर भएपछि मुख्यमन्त्री कार्की अल्पमतमा परेका थिए । राजीनामा पनि नगर्ने र विश्वासको मत पनि नलिने सार्वजनिक अडानपछि एमाले र माओवादी केन्द्रले प्रदेशसभामा संकल्प प्रस्ताव दर्ता गराएका थिए ।

मुख्यमन्त्री कार्कीले संविधानको धाराभन्दा एक इन्च बाहिर नजाने प्रष्ट पार्दै संकल्प प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए । ‘प्रदेश जोगाउन र मध्यावधि रोक्न म मुख्यमन्त्री बनेको हो’ उनले भने, ‘त्यतिबेला न मेरो दलको रेटर प्याड खोजिएन, न संसदीय दल र नेता खोजिएन । मैले पार्टीले कारबाही गरे पनि मध्यावधि रोकिन्छ भनरे जोखिम उठाएको हो ।’

Ads

सम्बन्धित पोष्टहरू