Ads

नेशनल पेमेन्ट गेटवे प्रकरण : सुनिल पौडेल दोषी ठहर, ८ जनालाई सफाइ


काठमाडाैँ । ‘नेसनल पेमेन्ट गेट वे’ खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा सदस्य न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई दोषी ठहर गरेको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

बहालवाला सचिवसहित अन्य प्रतिवादीले भने सफाइ पाएको रेग्मीले बताए ।

पेमेन्ट गेटवे खरिदमा २३ करोड २७ लाख ५८ हजार भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असोज १५ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

मुद्दा दायर हुँदाको बखत पौडेल नेपाल टेलिकमको प्रबन्ध निर्देशक थिए । यस प्रकरणमा बहालवाला सचिव मधुकुमार मरासिनी, पूर्वसचिव सञ्जय शर्मासहित ९ जना प्रतिवादी थिए ।

प्रतिवादीहरूमा केन्द्रका तत्कालीन अध्यक्ष सञ्जय शर्मा, तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, तत्कालीन निर्देशक तथा हालका उपनिर्देशक सफल श्रेष्ठ, तत्कालीन सहायक निर्देशक रमेशप्रसाद पोखरेल, तत्कालीन लेखा अधिकृत निमबहादुर वली, तत्कालीन लेखा अधिकृत रामबहादुर बुढा, कम्प्युटर इन्जिनियर रामशरण गायक समेत थिए ।

दोषी ठहर भएका पौडेलको हकमा सजाय निर्धारण हुन भने बाँकी छ ।

Ads

सम्बन्धित पोष्टहरू