Ads

प्रतिष्ठा र परीक्षा बनेको ईलाम २


ईलाम\ निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरु एवम् सर्वसाधारणको ध्यान ईलाम क्षेत्र नं. तर्फ सोझिएको छ । यहाँ आगामी १५ गते हुने उपनिर्वाचनलाई अधिकांश राजनीतिक दल एवम् स्वतन्त्रउम्मेद्वारहरुले समेत प्रतिष्ठाको विषय बनाएका छन् ।

प्रदेश सभा तर्फ बझाङमा समेत उपनिर्वाचन हुने भए पनि प्रतिनिधिसभातर्फ अहिले एउटा मात्र निर्वाचन क्षेत्रमा चुनाव हुन लागेकाले सवैको ध्यान ईलाम २ तर्फ केन्द्रित भएको हो ।

इलाम क्षेत्र नम्बर २ मा २०७९ सालमा भएको चुनावमा एमालेका सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । सुवासको निधनपछि रिक्त स्थानमा प्रतिनिधिसभा सदस्य चयन गर्नका लागि उपनिर्वाचन हुन लागेको हो ।

२०५६ सालदेखि इलाम २ बाट लगातार एमालेका सुवास नेम्वाङले चुनाव जित्दै आएका थिए । अहिले एमाले आफ्नो बिरागत जोगाउने ध्याउन्नमा छ भने कांग्रेस पटक पटक हारको बदला लिने दाउमा छ । यहाँ कांग्रेस माओवादीसँग गठबन्धन गर्दा पनि गत निर्वाचनमा ११४ मतको झिनो अन्तरले पराजित भएको थियो । यहाँ रास्वपा र पहिचान पक्षधरका स्वतन्त्र उम्मेद्वार पनि अहिले ति दलहरुका लागि चुनौती बनेर देखा परेका छन् । आ आफ्नो जीत सुनिश्चित गर्न सवै जसो दलका शिर्ष नेताहरु ईलाम २ धाउने क्रम तिब्र बनेको छ ।

यहाँ नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टीले साझा उम्मेदवारका रूपमा एमालेका सुहाङ नेम्वाङलाई मैदानमा ल्याएका छन् । नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिलनकुमार लिम्बू तथा पहिचान पक्षधरतर्फबाट डकेन्द्रसिंह थेगिमले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

जनमत पार्टीका प्रेमबहादुर लिम्बू, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बू, नेसनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट जितबहादुर राई उम्मेदवार बनेका छन् ।

राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम साह, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीले उम्मेदवारी दर्ता गराए । स्वतन्त्रबाट डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार साही, केशवकुमार चापागाईँ, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालको उम्मेदवारी छ ।

Ads

सम्बन्धित पोष्टहरू