काठमाण्डौ – सुख्खायाम शुरु भएसँगै देशै भरि डढेलोको प्रकोप बढेको छ । शनिबार एकैदिन देशका तीन सय २७ ठाउँको जङ्गलमा डढेलो लागेको छ । वन तथा भू–संरक्षण विभागको वन डढेलो अनुगमन प्रणालीको तथ्याङ्कअनुसार हिजो एकैदिन तीन सय २७ ठाउँको जङ्गलमा डढेलो लागेको हो ।
अहिले पनि देशका दुई सय एक ठाउँमा सक्रिय डढेलो देखिएको छ । अहिले सुर्खेतको २६, बाँकेको २०, सल्यान, दाङ र डडेल्धुराको १८÷१८ ठाउँसहित देशका २८ वटा जिल्लाका दुई सय एक ठाउँमा सक्रिय डढेलो रहेको हो । अहिले विशेषगरी लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा डढेलो धेरै देखिएको छ ।
डढेलोका कारण देशभरको वायु प्रदुषण पनि बढेको छ । कतिपय ठाउँमा डढेलो बस्तीमा पुगेको छ । हावाहुरीका कारण डढेलो तिब्र गतिमा फैलिएको छ । दक्ष जनशक्तिको अभाव र आधुनिक उपकरण नहुँदा नेपालमा डढेलो निभाउन समस्या हुने गरेको छ ।
स्थानीयबासिन्दा र सुरक्षाकर्मीले डढेलो बस्तीमा पस्नबाट जोगाउने प्रयास गरे पनि डढेलो निभाउन मुस्किल छ । नेपालको भौगोलिक अवस्था र यहाँ हुने डढेलोको जोखिमका कारण डढेलो नियन्त्रणका लागि फायर फाइटिङ हेलिकोप्टर अनिवार्य भएको डढेलोबारे अध्ययन गर्नुभएका डाक्टर भूपेन्द्र दासले जानकारी दिए ।
दुईजना घाईते
पाल्पामा आगो निभाउने क्रममा दुई जना घाइते भएका छन् । शनिवार दिउँसोदेखि लागेको आगो निभाउने क्रममा रैनादेवी छहरा–१, का ५५ वर्षका टोपबहादुर बुढा गम्भीर घाइते भएका छन् । उनको थप उपचारका लागि तानसेनस्थित अस्पतालमा रिफर गरिएको रैनादेवी छहरा–१ का वडा अध्यक्ष सोमबहादुर दर्लामीले जानकारी दिए ।
सिद्धेश्वरको साउने, मन्द्रान, मोहरे क्षेत्रमा शनिवार बिहानैदेखि आगलागी भएको थियो । आगलागीबाट स्थानीय भरिवश्वर पाण्डेय र रामनाथ पाण्डेको घर गोठ जलेर नष्ट भएको छ ।
प्रतिक्रिया दिनुहोस्