Ads

बहिरा व्यक्तिलाई नेतृत्व विकास तालिम


काठमाडौ । बहिरा युवालाई सशक्तिकरण र नेतृत्व विकास गराउने उद्देश्यले आजदेखि यहाँ पाँच दिने अभिवृद्धि तालिम सुरु भएको छ । ‘परिवर्तनका लागि युवा, सिर्जनशिल र जिम्मेवार बहिरा’ नाराका साथ सुरु तालिममा ४० जना बहिरा युवा सहभागी छन् । राष्ट्रिय युवा परिषद् र बहिरा महासङ्घ नेपालको सहकार्यमा तालिम सञ्चालन भएको हो । परिषद्का प्रशासन प्रमुख दिनेश घिमिरेले ब्यानरमा हस्ताक्षर गरी तालिम शुभारम्भ गरे ।

घिमिरेले राष्ट्र निर्माणमा बहिरा युवाको योगदान रहेको भन्दै उहाँहरुलाई अझ सशक्त बनाउन परिष्दले विभिन्न नेतृत्व विकासका कार्यक्रम गर्दै आएको बताए । “तालिमबाट सिकेका कुरा व्यवहारमा उतार्नु होला”, उनले भने,“ तपाईंहरुलाई गाह्रो परेका विषयमा सुझाव दिनुहोला हामी सकेसम्म सम्बोधन गर्ने छौँ ।”

बहिरा महासङ्घका अध्यक्ष सन्तोष केसीले शिक्षाले मात्रै युवा सक्षम हुन नसक्ने उल्लेख गर्दै आत्मनिर्भर बन्न क्षमता र सीप विकास अनिवार्य रहेको बताए । उनले सहभागीलाई तालिम अवधिमा पूर्णरुपमा सक्रिय भई दक्ष बन्न सुझाव दिएका थिए ।  बहिरा महासङ्घका वरिष्ठ उपाध्यक्ष सत्यदेवी बाग्लेले बेरोजगार हुनुपर्ने बहिरा समुदायको मुख्य समस्या रहेको बताए ।

सीपमुलक तालिमले धेरै हदसम्म आत्मनिर्भर बन्नसक्ने उनको भनाइ थियो । महासङ्घका महासचिव सिताराम ओझाले पहिलोपटक परिषद्ले यसरी बहिरा समुदायलाई दक्ष बनाउने तालिम दिएकोमा खुसी व्यक्त गरे ।

तालिम लिएपछि आत्मविश्वास पनि बढ्न सक्ने उनको बुझाइ छ । “हामीलाई थोरै भएपनि सहयोगको जरुरी छ”, उनले भने, “क्षमता हुँदाहुँदै पनि अवसर नपाउदा खुम्चिनु पर्ने स्थिति छ ।” राष्ट्रिय जनगणना, २०७८ अनुसार हाल नेपालमा बहिरा व्यक्तिहरुको सङ्ख्या ५१ हजार तीन सय ७३ छ ।

Ads

सम्बन्धित पोष्टहरू