Ads

परीक्षणको बहानामा फेरि चियामा अवरोध


विर्तामोड \ भारतले नेपालको प्रमुख निर्यात वस्तु चियामा फेरि अवरोध गरेको छ । गुणस्तर परीक्षणको बहानामा निर्यातमा अवरोध गरेको हो ।

परीक्षणका नाममा भारतीयको अवरोधका कारण नेपालबाट चिया बोकेर गएका ट्रक नेपाल–भारत सीमानाका पानीट्यांकीमा रोकिएका छन् । पटक–पटक नेपाली अलैंची र अदुवा निकासीमा अवरोध गरिरहेको भारतीय पक्षले तेस्रो मुलुक निर्यात हुने अर्गानिक तयारी चियामा पनि अबरोध गरेको हो ।

भारतीय चियालाई बजारमा पुर्याउन नेपाली चियाको निर्यातमा भारतले कुनै न कुनै बहानामा अवरोध गरेको नेपाली चिया व्यवसायीहरु दाबी गर्छन् । नेपाली चिया गुणस्तरीय भएकाले आफ्नो चियाको बजार खस्किने सम्भावना देखेपछि भारतले नेपाली चियामा अवरोध गरिरहेको नेपाली चिया व्यवसायीहरुको दाबी छ ।

केहि दिन अघिदेखि चिया व्यवसायीहरुले यसबारेमा सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका थिए । भारतले चिया निर्यातमा अवरोध गरेलगत्तै भारतको पश्चिम बंगालको पानीट्यांकीमा चिया लोड भएका झण्डै १६ वटा मालवाहक सवारीसाधन बाटैमा रोकिनु परेको चिया व्यवसायी एवम् मेची भन्सार एजेन्ट रोशन अग्रवालले बताए । पहिले ५ प्रतिशत कन्साइमेन्ट परीक्षण गर्दा चिया निर्यात गर्न पाईने प्रावधान रहेकोमा अहिले शतप्रतिशत चिया परीक्षण गर्नुपर्ने नियम अघि सारेपछि समस्या रहेको उनले बताए ।

मेची उद्योग बाणिज्य संघ मेचीनगरका अध्यक्ष खेमराज प्रसाईका अनुसार भारतले नेपाली चिया निकासीमा अवरोधले समस्या रहेको बताए । भारतले भनेजस्तो गरी चिया निकासी गर्न नेपाली व्यवसायीलाई सहज नभएको उनको भनाइ छ । गुणस्तर परीक्षणका लागि पानीट्यांकीमा प्रयोगशाला नभएकोले नमूना ९स्याम्पलिङ०लिएर गुणस्तर परीक्षणका लागि कलकत्ताको केन्द्रीय प्रयोगशाला पठाउनुपर्ने अवस्था छ । त्यसको रिपोर्ट आउन दिनसम्म लाग्ने भएकोले रिपोर्ट नआएसम्म चिया बोकेका सवारी साधन बाटैमा राख्नुपर्ने बाध्यता रहेको व्यवसायीले बताएका छन् ।

लामो समय सवारी साधन होल्ड हुँदा ढुवानी भाडासमेत बृद्धि हुन्छ । सवारी साधन रोकिएपछि ती सवारी साधनलाई व्यवसायीले दैनिक ३ हजार भारतीय रकम थप रकम तिर्नुपर्ने भएको छ ।

नेपाली चिया आयातमा भारतले समस्या खडा गरेपछि सयौ मजदुरको रोजगार गुम्ने मात्र नभई नेपाल सरकारले वर्षेनि आर्जन गर्ने विदेशी रकमसमेत कम हुने चिन्ता बढेको छ । मेची भन्सार कार्यालय काँकरभिट्टाले गुणस्तरको नाममा भारतले नेपाली चिया निर्यातमा रोकेको पुष्टि गरेको छ । यस विषयमा भारतीय समकक्षीहरुसँग छलफल भईरहेको कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए ।

मेची भन्सार कार्यालय काँकरभिट्टाले आवश्यक सहजीकरणका लागि अनुरोध गरेको छ । केही व्यवसायीले ल्याब परीक्षणको प्रतिवेदन नदेखाउँदा पनि भारतीय भन्सारले रोकावट गरेको बताएका छन् ।

नेपालको चिया २८ भन्दा बढी मुलुकमा निर्यात हुने गरेको छ । नेपालबाट वार्षिक ३ अर्ब रुपैयाँभन्दा बढी रकम बराबरको चिया निकासी हुने गरेको भन्सार विभागले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू