Ads

नेपाल-कतार संयुक्त वाणिज्य परिषद् स्थापनाको घोषणा


काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल-कतार संयुक्त वाणिज्य परिषद् स्थापना भएको छ ।

बुधबार दुवै देशका निक्षी क्षेत्रका संस्थाबीच सम्झौता भएको हो ।

संयुक्त वाणिज्य परिषद्को नेतृत्व नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले गर्नेछन् । कतारका अमिर शेख तमिम विन हमाद अल थानी र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

परिषद्ले व्यापार विस्तार, लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण, पर्यटन प्रवर्द्धनका क्षेत्रमा काम गर्ने महासंघले बताएको छ । तीव्र आर्थिक वृद्धि भइरहेको खाडी मुलुक कतारसँग संवादका लागि परिषद् स्थायी संयन्त्र बनेको महासंघको भनाइ छ । महासंघका अनुसार संयुक्त वाणिज्य परिषद्को उद्देश्य कतार र नेपालका निजी क्षेत्रबीच सहकार्य र समझदारी बढाउनु हो ।

वैदेशिक रोजगारीका लागि नेपालीको गन्तव्य मुलुकको रूपमा चिनिँदै आएको कतारको लगानी आकर्षित गर्न र व्यापार विस्तार गर्न परिषद्ले प्रभावकारी भूमिका खेल्ने दुवै पक्षको विश्वास छ । खाडी मुलुकमा कृषिजन्य उत्पादन, पानी, जडीबुटी, मसला र मसलाजन्य वस्तु लगायतको अत्यधिक माग छ ।

तीव्र आर्थिक विस्तारका कारण कतार लगानी गन्तव्यका रूपमा रहेको हुँदा नेपालमा लगानी आकर्षित गर्न परिषद्ले प्रभावकारी भूमिका निर्वाह गर्ने र पर्यटन प्रवर्द्धनका क्षेत्रमा पनि परिषद्ले काम गर्ने जनाइएको छ । ‘यस सम्झौताले आगामी दिनमा सहकार्यालाई थप बढाउनेछ,’ कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले भनेका छन् ।

यस्तै महासंघ अध्यक्ष ढकालले परिषद्‌मार्फत् थप सहकार्यका लागि काम गरिने बताए । “कतारको तीव्र आर्थिक विकासबाट फाइदा लिन परिषद्ले निरन्तर काम गर्नेछ,” महासंघका अध्यक्ष ढकालले भने ।

महासंघ अध्यक्ष ढकालले परिषद्को स्थापनापछि नेपालको जलविद्युत्, पर्यटन पूर्वाधार, सूचना प्रविधि र कृषि प्रशोधनका क्षेत्रमा लगानी बढाउन सहज हुने बताए ।

यसैगरी, महासंघ र कतार चेम्बरबीचको समझदारी पनि नवीकरण भएको छ । नयाँ समझदारीपत्रमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले हस्ताक्षर गरेका छन् । महासंघ र कतार चेम्बरबीच सन २००५ मा पहिलोपटक समझदारी भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू