Ads

मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रण, १०० घर जले


जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६ घण्टापछि नियन्त्रणमा आएको छ । तीव्र हावा चलिरहेको बेला दिउँसो करीब २ बजे  आगलागी भएको थियो ।

सो आगो अहिले पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । उनका अनुसार आगलागीबाट मटिहानीमा करिब एक सय घर जलेका छन् । घटनासम्बन्धी विस्तृत विवरण बिहीबारसम्म मात्रै थाहा पाउन सकिने उनको भनाइ छ ।

प्रजिअ गेलालले बिहीबार जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बस्ने तथा सो बैठकमा मटिहानी आगलागी घटनाबारे सर्वपक्षीय छलफल गरिने बताए । घरबारविहिन बनेका मटिहानीका पीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी महोत्तरी शाखाले तत्काल त्रिपाललगायतका राहत सामग्री प्रदान गरेको छ ।

आगलागीबाट पाँच खसीबाख्रा र दुई सुँगुरसमेत मरेका प्रहरीले जनाएको छ । बस्तीभरि फैलिएको आगो निभाउन १० वटा दमकल प्रयोग गरिएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र भारतीय सुरक्षाकर्मीसहित स्थानीयको सहयोगमा आगो निभाइएको हो ।

Ads

सम्बन्धित पोष्टहरू