एजेन्सी\ भारतमा संघीय संसदको तल्लो सदन लोकसभा निर्वाचनलाई नेपालीले पनि चासो पूर्वक लिएका छन् । कतिपय नेपालीभाषी बहुल क्षेत्रमा समेत दोस्रो चरण अन्तर्गत मतदान हुँदै छ । दोश्रो चरणका क्रममा १२ राज्य र केन्द्रशासित एक प्रदेशका गरी कुल ८९ सिटका लागि मतदान हुँदैछ । एक हजार दुई सय १० उम्मेदवार प्रतिस्पर्धामा छन् । यी ८९ सिटमध्ये अघिल्लो निर्वाचनमा बीजेपीले ५५ र कंग्रेसले १८ सिट जितेका थिए ।
कंग्रेस नेता राहुल गान्धी लगातार दोस्रो कार्यकालका लागि निर्वाचित हुन प्रतिस्पर्धा गरिरहेको केरलको वायनाड निर्वाचन क्षेत्रमा पनि भोलि नै मतदान हुनेछ । केरलका सबै २० सिटका लागि भोलि नै मतदान हुनेछ । यसैगरी कर्नाटकका २८ मध्ये १४ सिट, राजस्थानका १३, महाराष्ट्र र उत्तर प्रदेशका आठ–आठ, मध्यप्रदेशका सात, असम र बिहारका पाँच–पाँच, छत्तिसगढ र पश्चिम बंगालका तीन–तीन सिटका लागि मतदान हुनेछ ।
यस्तै मणिपुर, त्रिपुरा र जम्मु–कश्मीरका एक-एक सिटका लागि पनि मतदान हुनेछ । नेपालीभाषीहरुको बाहुल्य रहेको दार्जिलिङमा पनि मतदान हुनेछ ।
यस मतदानले राहुल गान्धीका अतिरिक्त कंग्रेस नेता शशि थरुर, लोकसभाका सभामुख ओम बिडला, अभिनयबाट राजनीतिमा प्रवेश गरेका चर्चित टीभी सिरियल रामायणका ‘राम’, अरुण गोबिलका साथै लगातार तेस्रो कार्यकाल जितेर ह्याट्रिक गर्ने प्रयासमा रहेकी चर्चित अभिनेत्री हेमा मालिनी लगायतको भाग्य निर्धारण गर्नेछ । अरुण गोबिल र हेमामालिनी दुवै भाजपाका उम्मेदवार हुन् ।
पहिलो चरणअन्तर्गत अघिल्लो शुक्रबार २१ राज्य र केन्द्रशासित प्रदेशका एक सय दुई सिटका लागि मतदान भएको थियो ।
प्रतिक्रिया दिनुहोस्