Ads

सजिलो हुँदै स्वर्गद्वारी


प्युठान, सडक मर्मत र सुधारपछि लुम्बिनी प्रदेशको प्रसिद्ध र महत्वपूर्ण धार्मिक एवं पर्यटकीय स्थल स्वर्गद्वारी पुग्न दर्शनार्थीलाई सजिलो भएको छ । शान्त र रमणीय स्थानमा रहेको स्वर्गद्वारी पुग्ने सडकमा सडक सुरक्षा र मर्मतको काम भएसँगै दर्शनार्थीलाई पुग्न सहज भएको हो ।

राप्ती गाउँपालिका दाङका दामोदर आचार्यले पक्की सडक भएकाले मन्दिर पुग्न सजिलो भएको बताउनुभयो । अहिले भिङ्ग्रीदेखि स्वर्गद्वारीसम्मको १४ किलोमिटर सडकमा सडक सुरक्षा र मर्मतको काम भएकाले सजिलो भएको आचार्यको अनुभव छ ।

स्वर्गद्वारी आउने दर्शनार्थीको चाप बढेसँगै स्वर्गद्वारीको आधार शिविर भिङ्गृदेखि स्वर्गद्वारीसम्मको करिब १४ किलोमिटर पक्की सडकमा सडक सुरक्षाको कामसमेत भएको छ । सडक डिभिजन कार्यालय प्युठान र सडक पूर्वाधार विकास कार्यालय प्युठानले यस चालु आर्थिक वर्षमा करोडौँ रुपियाँको लगानीमा सडक सुरक्षाको कामका लागि बजेट विनियोजन गरी काम गरेका छन् । सडक डिभिजन कार्यालय प्युठानका प्रमुख इन्जिनियर राजीव श्रेष्ठले आठ करोड ९४ लाख ६७ हजारमा ठेक्का सम्झौता भएर सडक सुरक्षाको काम अन्तिम चरणमा पुगेको बताए। गत वर्ष सडक दुर्घटना भएपछि सडक सुरक्षाका लागि ट्राफिक सङ्केत, सडक छेउमा रेलिङ राख्ने काम भएको छ। कार्यालयका निमित्त प्रमुख इन्जिनियर चन्द्रबहादुर शाहले भिङ्ग्री–स्वर्गद्वारीको घडेरी र रुमाले खण्डमा सडक पूर्वाधार विकास कार्यालयले काम गरिरहेको जानकारी दिए ।

अघिल्लो वर्ष बर्सातले बाटो पहिरो गएर साँघुरो भएको ठाउँमा पर्खाल लगाएर बाटो सुधार गरिएको उनको भनाइ छ । तीन करोड ३१ लाख रुपियाँको लागतमा पर्खाल, पहिरो नियन्त्रण, सडक छेउमा रेलिङ र भत्किएको कालोपत्रे मर्मतलगायतका काम अन्तिम चरणमा रहेको शाहले जानकारी दिए ।
हिन्दु धर्मावलम्बीको सबै प्रकारका पूजा हुने स्वर्गद्वारीमा नेपालका विभिन्न जिल्लासँगै भारतबाट बढी भक्तजन आउने गर्दछन् । विसं १९५२ मा महाप्रभुले स्वर्गद्वारी आश्रममा बौद्धिक मन्त्रबाट दीप प्रज्वलन गरी स्थापना गर्नुभएको अखण्ड महायज्ञ अहिले पनि निरन्तर बलिरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू