Ads

पीडितलाई न प्रदेशले देख्यो, न संघ बोल्यो


महोत्तरी\महोत्तरीको मटिहानीका आगलागीपीडित कष्टकर जीवन विताउन बाध्य भएका छन् । आगलागीबाट सवै सम्पत्ति गुमाएको पाँच दिन बितिसक्दा पनि पीडितले सरकारबाट कुनै सहयोग पाएका छैनन् । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव आगलागी भएको चार दिनपछि शनिबार घटनास्थलमा पुगेर निरीक्षण गरे पनि उनीहरुले राहत पाउन सकेनन् । संघीय सरकारले पनि आगलागीपीडितलाई राहत दिने विषयमा अझै केही निर्णय गरेको छैन ।

महोत्तरीको मटिहानी ६ स्थित मुस्लिम टोल जरलहवा बस्ती जलिरहँदा मधेशका मुख्यमन्त्री सरोजकुमार यादव काठमाडौंमा थिए । तर आगलागीले बस्ती नै सखाप भएको चार दिनपछि शनिबार निरीक्षण गर्न पुगे पनि राहत बारे केहि बोलेनन् ।
आगलागीपीडितको अवस्था बुझ्न मुख्यमन्त्री यादवले खेलकुदमन्त्री सुरिता साह, ऊर्जा, सिँचाई तथा खानेपानी राज्यमन्त्री शेख मोहम्मद कलामलगायतको टोली लिएर रित्तै पुगेका थिए ।

पीडितको आक्रोश सुनेपछि खेलकुद मन्त्री साहले आवश्यकताअनुसार सरकारले काम गर्ने बताए पनि राहतका विषयमा केहि भनेनन् । सरकारले गरेको ढिलासुस्तीप्रति सांसद र पीडितहरूले भने आपत्ति जनाएका छन् । नागरिक विपद्मा पर्दा सरकारले कुनै सहयोग नगरेको आरोप उनीहरूको छ ।

महोत्तरीको मटिहानीमा भएको आगलागीबाट १ सय १० घर जलेका छन् । पीडित परिवारलाई अहिले नेपाली सेना र सशस्त्र प्रहरीले खाना खुवाउने गरेको छ । घरवास गुमाएकाहरु त्रिपालमुनि रात काट्न बाध्य छन् ।

Ads

सम्बन्धित पोष्टहरू