Ads

नगरपालिकाले अग्नीपीडितहरुको घर बनाइदिने


विराटनगर । रंगेली नगरपालिकाले गएको महिना आगलागीमा परेर घर गुमाएका २३ परिवारका लागि नयाँ घर बनाइदिने भएको छ । गत चैत ३ गते रंगेली नगरपालिका ३ स्थित बाबुसाहेव टोलमा भिषण आगलागी हुँदा सन्थाल समुदायका २३ वटा घर जलेका थिए । आगलागीबाट घर गुमाएकाहरु टेन्टमुनि बस्न बाध्य छन् । आर्थिक अवस्था कमजोर भएका परिवारले घर गुमाएपछि खुला चौरमा बस्नु परेको र अधिक गर्मी र निकट भविष्यमा सुरु हुने बर्खाले उनीहरुको जनजीवन झन् कष्टकर हुने भएकोले रंगेली नगरपालिकाले उनीहरुको घर बनाइदिने तयारी गरेको हो ।

रंगेली नगरपालिकाको विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले २२ वटा घर बनाएर पीडितलाई हस्तान्तरण गर्ने निर्णय गरेको हो । अग्निपीडित प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापना कार्यविधि २०७७ अनुसार घर निर्माणको प्रक्रिया अघि बढाएको जनाएको छ । अग्निपीडितले क्षति पुगेका निजी आवासको विवरण नगरपालिकामा पेस गरेपछि नगरले अग्निपीडितलाई पुनस्र्थापनाको प्रक्रिया अघि बढाएको थियो । कार्यविधिको दफा ३ बमोजिम लाभग्राही पहिचानको काम सकिएको वडाध्यक्ष भरत प्रसाईँले बताए । पहिचान गर्ने क्रममा एक जना अग्निपीडितको अर्को स्थानमा पनि पक्की घर देखिएकाले अब २२ जना पीडितको घर मात्र बन्ने प्रसाईँले जानकारी दिए ।

नगरपालिकाले प्रतिघर ६ लाख ५५ हजार रुपियाँ लागतमा निर्माण गर्नेछ । नयाँ घर बनाउन लाग्ने कुल लागतको ३० प्रतिशत प्रदेश सरकारले साझेदारी गर्नेछ भने स्थानीय सरकारले १४ प्रतिशत खर्च व्योहोर्ने छ । यस्तै संघीय सरकारले ५५ प्रतिशत हुन आउने रकम तीन लाख ५५ हजार रुपैयाँका दरले उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।

घर निर्माणका लागि डेमिडेनस र लुथरन वल्र्ड फेडेरेसनलेसमेत सहयोग गर्ने प्रतिबद्धता जनाएको नगरपालिकाका प्रमुख दिलिप बगडियाले जानकारी दिए । नगरपालिकाले एउटा भान्छा कोठा, खानेपानीका लागि ट्युबेल र शौचालय पनि निमार्ण गरी पीडित परिवारलाई हस्तान्तरण गर्ने र पुनस्र्थापित गर्ने छ ।

Ads

सम्बन्धित पोष्टहरू