काठमाण्डौ । संघीय संसद्को आगामी अधिवेशनमा आउने अप्ठ्यारा समाधान गर्नका लागि सबै पक्षले भूमिका खेल्नुपर्ने प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले बताएका छन् ।
आगामी अधिवेशनमा आउनसक्ने अप्ठ्यारा समाधान गर्न सबैले भूमिका खेल्नुपर्ने उनले धारणा राखेका छन् । प्रतिनिधिसभा अन्तर्गतका संसदीय समिति सभापतिहरू र राष्ट्रिय दलको मान्यताप्राप्त पार्टीका प्रमुख सचेतक, मुख्य सचेतक र सचेतकहरूसँगको छलफलपछि सभामुखले आगामी अधिवेशनका समस्या समाधानका लागि आवश्यक परेमा शीर्ष नेताहरूसँग छलफल गर्ने बताएका छन् ।
‘आज पनि मैले के आह्वान गरेको छु भने हाम्रो तयारी गरौं, अधिवेशनमा आउने अप्ठ्याराहरूलाई हल गर्नको लागि सबैले भूमिका निर्वाह गरौं,’ सभामुख घिमिरेले भने, ‘संसद् बोलाएपछि विषय अन्तर्गत सदन अगाडि बढ्नुपर्छ । आवश्यक पर्यो भने स्वाभाविक शिर्ष तहमा संयुक्त वा अलग अलग बैठक गर्नुपर्छ ।’
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारीमा बचत गरिएको रकम ठगी गरेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी कांग्रेसले उनको राजीनामा माग्दै आएको छ । यसअघिको अधिवेशनको अन्तिमतिर संसद्मा कुनै पनि काम अगाडि बढ्न नदिएपछि सरकारले अधिवेशन नै अन्त्य गरेको थियो । कांग्रेस नेताहरूले आगामी अधिवेशनमा पनि उक्त मागलाई यथावत रूपमा अगाडि बढाउने स्पष्ट पारेका छन् ।
सभामुख घिमिरेले संसदीय समितिमा विचाराधीन विधेयकमाथिको दफावार सकेर प्रतिवेदन सभामा पेस गर्न पनि निर्देशन दिएका थिए । समितिमा विचाराधीन विधेयकमाथि भइरहेका छलफल र प्रतिवेदन तयारीबारे सभामुखले सभापतिहरूलाई सोधेका थिए ।
प्रतिक्रिया दिनुहोस्