काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्व. सुवास नेम्वाङ जनताका लागि लड्ने योद्धा भएको स्मरण गर्दै उनका छोरा सुहाङ पनि योद्धा नै भएको दाबी गरेका छन्।
मंगलबार इलामको सदरमुकाम इलाम बजारमा आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै ओलीले ‘राजाको छोरा राजा’ भने सुहाङप्रति प्रहार भएको भन्दै सो आरोपको खण्डन गरे।
ओलीले ‘समृद्धि नेपाल र सुखी नेपाली’ पहिचान भएको बताए । प्रदेशको नाममा पहिचनाको कुरा नरहेको उनको भनाइ छ । उनले इलामको विकासको जिम्मा सुहाङ नेम्वाङले र नेम्वाङको जिम्मा आफूले लिने बताए । “सुहाङ नेम्वाङले राम्रो काम गर्नुहुन्छ । नराम्रो काम गर्नुहुन्न,” उनले भने ।
नेम्वाङले चुनाव जितेपछि शिर झुक्न दिन्न भन्ने प्रतिबद्धता गरेको बताउँदै अध्यक्ष ओलीले ०४८ को मतदान जितेपछि आफूले गरेको प्रतिबद्धता स्मरण गरे । “०४८ सालको चुनाव जितेपछि पहिलो भाषणमा मैले भनेको थिएँ । उहाँले त्यसै भन्नुभयो,” उनले भने ।
एमालेमाथि उठेको प्रश्नको जवाफ कार्यकर्ताले दिएको उनले बताए । टिकट दिँदा सुवास नेम्वाङका छोरालाई टिकट दिएकोमा आपत्ति जनाएकोप्रति उनको संकेत थियो ।
“अनेक प्रश्न उठेका थिए । हरेक प्रश्नको जवाफ व्यवहारबाट दिनुभएको छ,” उनले भने, “एमालेमा असन्तुष्टि हुन्छ । राजाको छोरा राजा हुन्छ , कहाँबाट सुवास नेम्वाङ राजा हुनुहुन्थ्यो र उहाँको छोरा राजा हुन्छ ? उहाँ त संविधानको निर्माता, सांसद, एउटा योद्धा हुनुहुन्थ्यो । योद्धाको छोरा योद्धा नभएर बाघको छोरा बाघ नभएर स्याल हुन्छ त ?”
नेम्वाङ परिवारमा परेको चोटमा सुहाङलाई उमेदवार बनाएको सुनाए । उनले राजनीति भनेको एमालेसँग मात्रै भएको दाबी गरे । सुशासन र विकाससम्बन्धी नीति एमालेसँग भएको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्