Ads

तथ्याङ्कमा बजारभाउ घट्यो, उपभोक्ता भने महँगो तिर्न बाध्य


काठमाडौँ। चालु आर्थिक वर्ष २०८०/८१ को चैत महिनामा सेवा र वस्तुको महँगी घटेको तथ्य सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत आव २०७९/८० को चैत महिनाको तुलनामा चालु आवको चैत महिनामा वस्तु र सेवाको महँगी झन्डै आधाले घटेको हो ।

केन्द्रीय बैङ्कको प्रतिवेदन अनुसार गत आवको चैत महिनामा ७.७६ प्रतिशत रहेको महँगी चालु आवको चैतमा घटेर ४.६४ प्रतिशतमा सीमित रहेको छ । खाद्य तथा पेय पदार्थको महँगी पनि गत वर्षको चैतको तुलनामा घटेको छ । गत आवको चैतमा ६.९३ प्रतिशत रहेको महँगी चालु आवको चैतमा ५.२१ प्रतिशतमा सीमित रहेको देखिएको छ ।

केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजार महँगी घटेको देखाए पनि आमउपभोक्ताले भने बजार भाउ घटेको अनुभूति गर्न पाएका छैनन् । बरु हरेक वर्षको महँगीको मारमा उपभोक्ता छन् । त्यसो त नेपाल खुद्रा व्यापार सङ्घका अनुसार गएको एक वर्षको बिचमा सबैजसो उपभोग्य वस्तुको भाउ औसतमा २० प्रतिशतले महँगिएको छ । सङ्घका वरिष्ठ उपाध्यक्ष नरेश शाहीले एक वर्षयताका हरेक उपभोग्य वस्तुको मूल्य विश्लेषण गरेर हेर्दा कुनै १० देखि ५० प्रतिशतसम्म महँगिए पनि औसतमा २० प्रतिशत महँगो भएको पाइएको जानकारी दिए ।

सो अवधिमा सबैभन्दा बढी दैनिक उपभोग्य वस्तु चामल, दलहनजन्य वस्तुको भाउ उच्च महँगो भएको उनको भनाइ छ । सो अवधिमा गत वर्ष वैशाखमा प्रतिकेजी ६५ रुपियाँमा कारोबार भएको मोटा चामल अहिले बढेर ८५ रुपियाँ पुगेको छ । दलहन प्रतिकेजीमा १५ रुपियाँदेखि ९५ रुपियाँसम्म महँगो भएको छ । सङ्घका अनुसार सो अवधिमा चनाको दाल प्रतिकेजी १२५ रुपियाँबाट महँगिएर १४० रुपियाँको छ भने रहरको दाल प्रतिकेजी २०५ रुपियाँबाट महँगिएर तीन सय रुपियाँ पुगेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

Ads

सम्बन्धित पोष्टहरू