Ads

सुसंस्कृत समाज निर्माणका लागि सीताबाट प्रेरणा प्राप्त हुने राष्ट्रपतिको विश्वास


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लैङ्गिक विभेदलगायत सबै प्रकारका सामाजिक र साँस्कृतिक विभेदको अन्त्य गर्दै प्रगतिशील, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि राष्ट्रिय विभूति सीताबाट सबैमा प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

सीता जयन्तीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले जगत् जननीका रूपमा पूजाअर्चना गरिने मातृशक्ति सीता मिथिलाभूमि नेपालकी सुपुत्री हुनु हामी सबै नेपालीका लागि गौरवको विषय भएको बताए ।

माता सीतालाई धैर्यता, सहनशीलता र उदारताकी प्रतिमूर्तिकारूपमा लिइने उल्लेख गर्दै राष्ट्रपति पौडेलले मिथिलाकालीन सभ्यतादेखि नै समाजमा महिलाको स्थान उच्च राख्न मार्गदर्शन गर्ने आदर्श नारीका रूपमा समेत माता सीताको श्रद्धा गर्ने गरिएको स्मरण गरे ।

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन विशेष पूजा अर्चनासहित सीता उत्पत्ति दिवस अर्थात् सीता जयन्ती मनाउने गरिन्छ । राष्ट्रपति पौडेलले त्रेतायुगमा मिथिलाका राजा जनकले यज्ञको अनुष्ठान गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको वर्णन वाल्मीकि रामायण र पुराणहरूमा गरिएको उल्लेख गरेका छन् ।

“माता सीताको जन्म हाम्रो पौराणिक तथा सांस्कृतिक विश्वासको धरोहरकारूपमा रहिआएको छ, जानकी, वैदेही, जनकनन्दिनीलगायत सीताका अन्य धेरै नामहरूलाई श्रद्धापूर्वक लिइने गरिएको छ”, शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले भनेका छन् । उनले राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको कामनासमेत गरेका छन् ।

उपराष्ट्रपतिकाे शुभकामना सन्देश

उपराष्ट्रपति रामसहायप्रसाद यादवले सीता जयन्तीले नारीमाथि हुने शोषण, हिंसा र विभेद्को अन्त्यका लागि सबैलाई उत्प्रेरित गर्ने तथा सभ्य, शान्त, समुन्नत र समृद्ध समाज निर्माणमा थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

सीता उत्पत्ति दिवस (सीता जयन्ती), २०८१ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै उनले सीता जयन्ती परिवार र समाजमा विद्यमान सबैखाले आपसी कलह, द्वेष, क्लेश, दुःख र अशान्ति समाप्तिका लागि प्रतिबद्धता व्यक्त गर्ने अवसरका रुपमा लिनुपर्नेमा जोड दिए ।

“वैदेही, जनकनन्दिनी, जनकदुलारी, जानकी मातालगायत विभिन्न नामले सम्बोधन गरिने माता सीता हाम्रा राष्ट्रिय विभूति हुनुहुन्छ, उहाँको जयन्ती देशभरिका रामजानकी मन्दिरहरुमा विशेष पूजाअर्चनासहित धुमधामका साथ मनाउने परम्परा रही आएको छ । सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रुपमा सम्मान गरिन्छ । यी गुणहरु वर्तमान परिप्रेक्ष्यमा पनि उत्तिकै अनुशरणीय र अनुकरणीय छन्”, उपराष्ट्रपतिको कार्यालयद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू