Ads

वर्षौ देखि अलपत्र रक्तचन्दन भारत फर्काकाउने प्रकृया शुरु


काठमाडौँ, वर्षौै देखि गोदाममा थन्क्याईएको बहुमुल्य रक्तचन्दन भारतनै फर्काकाउने प्रकृया शुरु भएको छ । नेपालका विभिन्न १८ जिल्लामा थन्काएर राखिएको रक्तचन्दन भारतलाई फिर्ता गर्ने तयारी सुरु भएको हो ।मन्त्रीपरिषद् बैठकले रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेपछि प्रक्रिया अघि बढाएको हो ।

मन्त्रीपरिषद् बैठकले सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन–२०७३ को दफा ३० बमोजिम विभिन्न स्थानमा घाटगद्दीमा रहेको जम्मा एक लाख ७३ हजार ७१.७९२ केजी रक्तचन्दन काठ उत्पत्ति भएको मुलुकमा फिर्ता लैजान स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो । सरकारले चौथो पटक रक्तचन्दन फिर्ता गर्ने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको थिएन । यस पटकको निर्णयले २०६४ सालदेखि बरामद गरेर राखिएको रक्तचन्दन भारतलाई फिर्ता गर्ने प्रक्रियाले सार्थकता पाउने देखिएको छ ।

वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं प्रवक्ता बद्रीराज ढुङ्गानाले भारतलाई रक्तचन्दन फिर्ता गर्ने निर्णय भएलगत्तै मन्त्रालयलाई पत्र प्राप्त भएकाले परराष्ट्र मन्त्रालयलाई चिठी लेखेर पठाएको जानकारी दिए । रक्तचन्दन थन्किएर राखिएका जिल्ला सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, रसुवा, दोलखा, धादिङ, गोरखा, ताप्लेजुङ, सङ्खुवासभा, झापा, सप्तरी, सर्लाही, चितवन, नवलपरासी, कपिलवस्तु र बझाङमा छन् । बरामद गरेर राखिएका रक्तचन्दन नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिएर राखिएको छ । भारतले रक्तचन्दन नलिँदा काठमाडौँलगायत अरू जिल्ला सदरमुकाममा रहेको महत्वपूर्ण जग्गा ओगट्नुका साथै सुरक्षा व्ययभार थपिएको छ ।

२०६५ सालमा बसेको मन्त्रीपरिषद् बैठकले ५४ हजार ११२ केजी रक्तचन्दन भारतलाई फिर्ता गर्ने निर्णय गरेको थियो । तर ३६ हजार ९२८ किलो रक्तचन्दन मात्र फिर्ता गरिएको थियो । त्यसै गरी २०७१ फागुन १२ मा बसेको मन्त्रीपरिषद् बैठकले २७ हजार १६६ केजी रक्तचन्दन भारतलाई फिर्ता दिने निर्णय गरेको थियो । २०७६ साल पुस र २०८० साउनमा सरकारले भारतलाई फिर्ता दिने निर्णय भए पनि रक्तचन्दन फिर्ता हुन सकेको थिएन ।

Ads

सम्बन्धित पोष्टहरू