काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले सदनको अवरोध खुलाउन प्रयास नगरेको निष्कर्ष निकालेको छ ।
सहकारीको रकम अपचलनमा गृहमन्त्रीको संंलग्नताबारे छानबिनका लागि सरकार तयार नभएको भन्दै कांग्रेसले संसद्को अवरोध जारी रहने बताएको हो । सहमति हुन नसकेपछि कांग्रेस संसद बैठक अवरोधलाई निरन्तरता दिने निष्कर्षमा पुगेको छ ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले मुख्य विषयलाई अर्कोतिर मोड्ने गरी सरकारबाट कुरा आएकाले सहमति हुन नसकेको बताए । उनले शिलापत्रसँग भने, ‘मुख्य विषय लामिछानेमाथि छानबिन हो । तर, सरकार पक्षले अरु अरु विषय उठाएर मुख्य विषयलाई अर्कोतर्फ मोड्ने कुरा आएको छ । यसमा सहमति हुने त कुरै भएन । सहमति नभएपछि संसद अवरोध गर्नुको हामीसँग अरु के विकल्प छ र ?’
नेपाली कांग्रेसकी सचेतक सुशिला थिङले सहमतिको बिन्दुमा पुग्न नसकिएको बताइन् । उनले सहमति जुट्न नसकेका कारण कांग्रेसले आफ्नो मागलाई यथास्थितिमा राख्दै बैठक अवरोध राख्ने जानकारी दिइन् ।
उनले भनिन्, ‘अहिले सहमतिको बिन्दुमा पुग्न सकेन । तत्काल हामी सदनमा यथावस्थामा आफ्नो माग राखेर उभिने पक्षमा छौँ । केही कुराहरु अपुग भयो । केही कुराहरु नसमेटिएको हुनाले केही समय चाहिएको जस्तो अनुभुति भएको छ । विषयवस्तु गृहमन्त्रीले बोल्नु र नबोल्नुमा सरोकार रहेन । हामीले राखेको सरोकार भनेको संसदीय छानबिन समिति गठन हुनुपर्छ । संसदीय छानबिन समिति डा. रामशरण महतदेखि जनार्दन शर्माको पालासम्म गठन हुने । अहिलेको पालामा चाँहि नहुने भन्ने अभ्यास कहाँबाट सुरु गर्न खोजेको हो यो नमिलेको छ । सरकारमा संलग्न दलहरुको कारणले अड्किएको हो ।’
बिहीबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिसभा बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै आग्रहमा सभामुख देवराज घिमिरेले अहिले ४ बजेसम्मका लागि सारेका थिए । कांग्रेससँग सहमतिका लागि समय उनले मागेका थिए । तर, अहिले चार बजिसक्दा संसद बैठक सुरु हुन सकेको छैन, भने कांग्रेससँग सहमति पनि भएको छैन।
उता रवि लामिछानेलाई संसदमा बोल्न दिएपछि छानबिन समिति बनाउने सन्देश प्रधानमन्त्रीले प्रवाह गरेका थिए । तर, प्रधानमन्त्रीले बनाउने भनेको छानबिन समिति मुख्य मुद्दालाई अर्कोतर्फ मोड्ने गरी आएको कांग्रेसको भनाइ छ ।
लामिछाने बिहीबार संसदमा आफूले बोल्ने विषयमा तयारसमेत भइसकेका थिए । तर, उनको पार्टीमा पनि छानबिन समिति बने के गर्ने भन्ने विषयमा टुंगो छैन । कसैले सरकारै छाड्नुपर्नेसम्मको कुरा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्