भजनी । कैलालीको टीकापुर नगरपालिका–७ मा रहेको सत्ती कर्णाली सामुदायिक वन बेत र बाँसका लागि प्रख्यात मानिन्छ । बेत र बाँसबाट आकर्षक फर्निचर तथा सजावटका सामग्री उत्पादन हुने भएकाले उक्त सामुदायिक वन बेत र बाँस बेचेर आत्मनिर्भर बन्दै गएको छ ।
बेत र बाँसका कारण यहाँका कैयौँ स्थानीय स्वरोजगारका छन् । उनले आठ वर्ष मलेसियामा बेत र बाँसका सामग्री उत्पादन गर्ने काम गरेको बताए । पाँच वर्ष भारतको कलकत्तामा पनि त्यहीँ काम गरेका विश्वकर्माले चार वर्षदेखि टीकापुरमा तिलगङ्गा ‘बेत–बाँस फर्निचर उद्योग’ सञ्चालन गर्दै आएका छन् ।
“विदेश बसेर सिकेको सीपका लागि आफ्नो जिल्लामा कच्चापदार्थ नहुँदा टीकापुरमा आएर व्यवसाय सुरु गर्नुपरेको हो । यो व्यवसायबाट निकै सन्तुष्टि मिलेको छ”, उनले भने, “आर्थिक रुपमा पनि विदेशमा दुःख गरेर कमाउने पैसाभन्दा राम्रो आम्दानी हुँदै आएको छ ।” विश्वकर्माले १०÷१५ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । अप्रत्यक्ष रुपमा २० देखि २५ जना उनको फर्निचरमा काम गर्दै आएका छन् ।
निकै आकर्षण देखिने बेत र बाँसका उत्पादनलाई टीकापुर नगरपालिकाले प्राथमिकता दिन थालेको विश्वकर्माले बताए । उनका अनुसार नगरपालिकाले बाह्य उत्पादनलाई प्रतिस्थापन गर्दै स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेको हो ।
स्थानीय बजारमा उत्पादन भएका बेत र बाँसका फर्निचर पालिकाले प्रयोगमा ल्याउनुका साथै युवालाई स्वरोजगार बनाउन प्रोत्साहन गर्न थालिएको नगरप्रमुख रामलाल डगौंरा थारूले बताए । उनका अनुसार पालिकाको कार्यालयसहित मातहतका सबै कार्यालयमा बाह्य उत्पादनलाई विस्थापित गर्दै स्थानीय उत्पादनलाई प्रयोगमा ल्याउन थालेको छ ।
“अबका दिनमा कार्यालयका लागि आवश्यक पर्ने जुनसुकै वस्तुहरु भए पनि पहिलो प्राथमिकता स्थानीय उत्पादनलाई दिनेछौँ”, नगरप्रमुख थारूले भने, “त्यसमा पनि बेत र बाँस टीकापुरको एउटा पहिचान भएकाले यसलाई पहिलो प्राथमिकतामा राखेका छौँ ।”
टीकापुर–७ का निवर्तमान वडाध्यक्ष गङ्गाराम आचार्यले पनि स्थानीय उत्पादनबाट बनेका वस्तुलाई स्थानीय सरकारले प्राथमिकता दिन थालेको भन्दै यसले युवामा सकारात्मक सन्देश प्रवाह गरिरहेको बताए ।
“बेत र बाँसका सामग्रीलाई पालिकाले प्राथमिकता दिनु राम्रो सुरुआत हो । सबै वडा कार्यालय र मातहतका कार्यालयमा पनि बेतबाँसका फर्निचर प्रयोग गर्ने व्यवस्था गर्न सक्नुपर्छ”, उनले भने, “पहिले नै हुनुपर्ने काम ढिलै भए पनि सुरु भएको छ । बजारीकरणमा नगरपालिकाले सहयोग गर्नुपर्छ ।”
सामुदायिक वनले वार्षिक एकपटक बेत सङ्कलन गर्दै आएको छ । छ सयदेखि नौ सय क्विन्टल बेत र बाँस वार्षिक उत्पादन हुने गरेको वनका अध्यक्ष जितबहादुर चौधरीले जानकारी दिए । दुई सय ५८ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनको ५० प्रतिशत क्षेत्र बेतबाँसले ओगटेको छ । त्यसलाई वनले चार भागमा विभाजन गरेको छ । “बेत–बाँसका चार प्लट छन् । वर्षमा एक प्लटको बेत काट्छौँ”, अध्यक्ष चौधरीले भन्नुभयो, “चार वर्षमा एकपटक बेत काट्ने गरेका छौँ ।”
सङ्कलन भएको बेतको १० प्रतिशत उपभोक्तालाई, १० प्रतिशत गैरउपभोक्तालाई वितरण गर्नुपर्ने वनको प्रावधान छ । वनले साना तथा मझौला उद्योगले माग गरेअनुसार बाह्य जिल्लामा बेत बिक्री गर्न नसकिएको वनका अध्यक्ष चौधरीको गुनासो छ । “कानुनले ‘टेन्डर आह्वान’ गरेर मात्रै बिक्री गर्न भन्छन् । त्यसो गर्दा साना तथा मझौला उद्योग सञ्चालन गर्ने व्यवसायीले बेत पाउँदैनन्”, उनले भने, “साना तथा मझौला फर्निचर उद्योग सञ्चालन गर्ने व्यवसायीले सहजै बेत पाउन सकेको भए धेरैले रोजगारी पाउने स्थिति रहन्थ्यो ।”
प्रतिक्रिया दिनुहोस्