Ads

सत्ता समीकरण परिवर्तनपछि कांग्रेसमा छटपटाहट देखियोः महासचिव पोखरेल


बाँके । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सत्ता समीकरण परिवर्तन भएपछि नेपाली कांग्रेसमा छटपटाहट देखिएको बताएका छन् । नेकपा (एमाले) बाँकेको नवौँ जिल्ला अधिवेशनलाई शुक्रबार नेपालगञ्जमा सम्बोधन गर्दै महासचिव पोखरेलले सरकारलाई तीन महिना पनि काम गर्न नदिएर सत्ताका लागि छटपटाहट देखाएको बताए ।

उन भने, “एमाले सरकार र सत्ता नभएपछि छटपटाउने पार्टी होइन तर कांग्रेस सत्ताबिना बस्न सक्दैन । कम्तीमा तीन महिनाको समय काम गर्न दिनुपथ्र्यो तर संसद्अवरुद्ध गरेर कांग्रेसले सत्ताका लागि छटपटाहट देखायो ।”

उनले एमाले आलोपालो सरकारभन्दा पनि राजनीतिक स्थायित्वको पक्षमा रहेको बताए । अबको राजनीतिको दिशा के हो भन्ने कुरा उपनिर्वाचनले देखाएको र जनताले रोजेको पार्टी एमाले हो भन्ने कुरा पुष्टि भएको पनि महासचिव पोखरेलको भनाइ थियो ।

“विसं २०७९ को चुनावमा हामीले चाहेजस्तो जनादेश पाएनौँ तर दुईतिहाइ ल्याउने भन्दै गठबन्धन गरेका दलले पनि बहुमत ल्याउन सकेनन्”, महासचिव पोखरेलले भने, “जनताले रोजेको पहिलो पार्टी एमाले भए पनि सरकार चलाउने जनादेश हामीलाई प्राप्त हुन सकेन ।” अब एमालेले सरकारको कुर्सी र भागबण्डामा भन्दा २०८४ को चुनावमा ध्यान केन्द्रित गरेकाले एक्लै बहुमत आउने गरी तयारीमा लाग्न नजेता कार्यकर्तालाई उनले आग्रह गरे ।

जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपतिको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन समारोहमा एमाले सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल, पोलिटब्यूरो सदस्य सुजिता शाक्य, बाँके इन्चार्ज खेममान खड्कालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू