Ads

भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछ : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक गत्यावरोध निकासको दिशातर्फ अगाडि बढेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०को पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले छलफल र संवादबाट विद्यमान अवरोधले निकास पाउने विश्वास व्यक्त गरे ।

“प्रमुख प्रतिपक्षी दल र सत्तासमीकरणका साझेदार प्रमुख दलबीच निरन्तर छलफल र संवाद भइरहेको छ”, प्रधानमन्त्री दाहालले भने, “भोलिसम्म सदनको अवरोध हट्नेछ । यही जेठ ७ गते आफूले विश्वासको मत लिने तयारी गरेको जानकारी दिँदै प्रधानमन्त्रीले संसद्बाट विश्वास प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताए । उनले भने, “विश्वासको मत प्राप्त हुनेमा कुनै दुविधा छैन ।”

सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्नेगरी बजेट निर्माण भइरहेको जानकारी दिँदै प्रधानमन्त्रीले आगामी बजेटमार्फत जनताका आकाङ्क्षा सम्बोधन गरिने बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
“सरकारको ध्यान यस वर्षको नीति तथा कार्यक्रमलाई पारित गर्ने र संविधानले व्यवस्था गरेअनुसारको बजेट बनाउनेमा छ”, प्रधानमन्त्रीले भने, “बजेटमार्फत नीति तथा कार्यक्रमलाई सहीरुपमा सम्बोधन गर्नुपर्नेछ ।

एकीकृतरुपमा कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले नेपालको लोकतन्त्र सुदृढीकरणका लागि पनि कम्युनिष्टहरू एकीकृत हुनुपर्ने बताए । “समाजवादी क्रान्तिलाई अगाडि बढाउन कम्युनिष्ट विचारका सबै एक ठाउँमा आउनुपर्छ, त्यसका लागि सकारात्मक वातावरण बनेको छ”, प्रधानमन्त्री दाहालले भने, “कम्युनिष्ट आन्दोलनका दस्तावेजलाई एकीकृत गर्नुपर्ने अवस्था आएको छ । लोकतन्त्र सुदृढीकरण र जनताका आकाङ्क्षा पूरा गर्न सबै एकजुट हुनुपर्छ ।”प्रधानमन्त्री दाहालले नेकपा(माओवादी केन्द्र) कर्णाली प्रदेश समितिद्वारा प्रकाशित ‘नेपाली कम्युनिष्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेजहरू ग्रन्थ–२’, आस्था केसीद्वारा लिखित ‘जनयुद्धका चिठी’ र ‘कालीकोट’ स्मारिका विमोचन गरेका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू