काठमाडौ\ सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल कांग्रेस संसद्को गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति गठनका लागि सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बेलुका भएको सत्ता गठबन्धन र नेपाली कांग्रेसका शीर्ष नेताबीचको छलफलमा संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत भएका कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
लेखककाअनुसार छानबिन समितिको कार्यादेश अर्थात् टिओआरछलफलपछि टुङ्गो लाग्नेछ । सदनमा भइरहेको गतिरोध अन्त्यका लागि छानबिन समिति बनाएर जानुपर्छ भन्नेमा सकारात्मक छलफल भएको हो । एक नेताका अनुसार सँगसँगै समितिको कार्यादेश के हुने भन्ने विषयमा पनि काम गर्ने कुरा भएको छ । समिति गठन गरेर जाने भन्नेमा सबै राजनीतिक दलहबीच समान धारणा बनेको छ ।
छानबिन समितिको कार्यादेश निर्माणका लागि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहजीकरण गर्ने र सबै दलका नेता बसेर त्यसलाई मूर्तरुप दिने तयारी छ । गिरिको संयोजकत्वमा कांग्रेस सहमहामन्त्री जीवन परिवार, एमाले प्रमुख सचेतक महेस बर्तौला र राष्ट्रिय स्वजतन्त्र पार्टीका सांसद शिशिर खनाल सम्मिलित कार्यदल गठन भएको छ ।
छानबिन समिति गठन गर्ने सहमति भएसँगै समितिको कार्यादेश निर्धारणका लागि तयारी थालिएको र संसद् बैठक सहजरुपमा अघि बढ्ने विश्वास गरिएको छ ।
आज संसद् बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । छानबिन समिति गठन गर्ने विषयमा यसअघि चरणवद्ध रूपमा छलफल भएको थियो । हिजो पनि शुरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख देवराज घिमिरे, एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, कानुनमन्त्री पदम गिरीलगायतसँग छलफल गरेका थिए ।
सभामुखसँगको छलफलपछि प्रधानमन्त्रीसहित सत्तारुढ दलका नेताहरुले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, प्रमुख सचेतक लेखकलगायतसँग छलफल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्