Ads

दुवै सदनको बैठक बस्दै, कार्यसुचीमा के के छन् ?


काठमाडौँ । संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजेका लागि आह्वान गरिएको छ ।
बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ । आजैको बैठकमा प्रतिनिधिसभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सभामुखले सदस्यहरूको मनोनयन गर्नेछन् ।

सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यावाद ज्ञापन गर्ने पनि आजको कार्यसूचीमा उल्लेख छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गर्नेछन् भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेस गर्नेछन् ।

त्यसपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी विधेयक २०८० लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । सहकारीको बचत अपचलन प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै कांग्रसले संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै संसद् अवरुद्ध गर्दै आएको थियो । शनिबार बसेको शीर्ष नेताहरूको बैठकले समिति बनाउने निर्णय गरेकोले आजको प्रतिनिधिसभा बैठकले निरन्तरता पाउने देखिएको छ ।

राष्ट्रिय सभा पनि बस्दै
राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेर १५ मिनेटमा संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभारसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनेछन् । अध्यक्षले विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्नेछन् ।

राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनका लागि धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यस्तै, कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ सभासमक्ष पेस गर्नेछन् ।

सञ्चारमन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक र विधायन व्यवस्थापन समितिका सभापति जयन्ती राईले सुरक्षित कारोबारसम्बन्धी प्रतिवेदन सभामा पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।

Ads

सम्बन्धित पोष्टहरू