काठमाडाैं । गुणस्तरीय शिक्षाको माग गर्दै आन्दोलनरत नेत्र चापागाईंलाई भेट्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ पुगेकी छन् ।
बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीनिकट नेपाल समाजवादी विद्यार्थी युनियनमा अध्यक्षसमेत रहेका चापागाईंले गुणस्तरीय शिक्षाका लागि ईसीडी शिक्षाको सुधारको माग गरेका छन् ।
चापागाईंले ‘गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’ भन्ने नाराका साथ एकल प्रदर्शन गर्दै आएका छन् । माइतीघरमा एक्लै उभिएर सरकारको ध्यानाकर्षण गराउने प्रयास गरिरहेका छन् ।
चापागाईंले प्रदर्शन गरिरहेको माइतीघर पुगेर शिक्षामन्त्री श्रेष्ठले मागप्रति ध्यानाकर्षण भएको बताएकी छन् । चापागाईंले आन्दोलन थालेको पाँचौँ दिन शिक्षामन्त्री श्रेष्ठ भेटका लागि गएकी हुन् ।
आन्दोलनमा रहेका विद्यार्थी नेता चापागाईंले प्रारम्भिक बाल विकास (ईसीडी) तहलाई तीन तहको बनाउनुपर्ने, तालिमप्राप्त दक्ष शिक्षक राख्नुपर्ने, दिवा खाजाको रकम बढाउनुपर्नेसहितका पाँचवटा माग राखेका छन् ।
चापागाईंका माग भने शिक्षा मन्त्रालय मात्र नभई, अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयसँग पनि जोडिएका छन् । आन्दोलनरत चापागाईंले विद्यार्थीहरूलाई दिइने १५ रुपैयाँ खाजा खर्च र भौतिक पूर्वाधार अपुग बताइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्