काठमाडौं । सहकारी ठगी प्रकरण र झापाको गिरीबन्धु टि-स्टेटमा भएको भनिएको नीतिगत भ्रष्टाचारविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले खबरदारी जुलुस निकालेको छ ।
नेविसंघले काठमाडौंको माइतीघरमा सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र झापाको गिरिबन्धु टी स्टेटको जग्गा विवादबारे अनुसन्धान गर्न संसदीय छानबिन समितिको माग गर्दै विरोध गरेको हो।
प्रदर्शनमा सहभागीहरूले चिया छानेको,सहकारी ठग जोगाउन जानेको,लुट्न सके लुट कान्छा,लुट्न सके लुट,अरु देशमा पाइदैन नेपालमै लुट,सहकारी ठगीको प्रमाण यहाँ छ,रवि दाइ अदालतले भन्यो- गिरिबन्धु,ओली सरकारको नीतिगत भ्रष्टाचार,कारवाही गर्ने हिम्मत छ ? लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन्।
लामिछानेमाथि संसदीय समिति गठन गर्न सत्ता पक्ष र प्रतिपक्ष सहमत भएपनि कार्यादेशमा सहमति जुट्न सकेको छैन। आइतबार बिहान संसदीय समितिको कार्यादिशा टुंग्याउन बसेको कार्यदलको बैठक निष्कर्षविहीन भएको छ। सहमति जुटाउन बैठक पुन: बस्दैछ।
दलहरूबीच कार्यादिशामा सहमति जुट्न नसक्दा संघीय संसदनका प्रतिनिधिसभा बैठक र राष्ट्रिय सभा बैठक तोकिएको समयमा बस्न सकेका छैनन्।

प्रतिक्रिया दिनुहोस्