Ads

कूर्म जयन्ती मनाइँदै


काठमाडौँ । भगवान् विष्णुले दोस्रो कूर्म अर्थात् कछुवा अवतार लिएर देव एवं मानवकल्याणका लागि काम गरेको दिनको स्मरणमा आज कूर्म जयन्ती पर्व मनाइँदैछ । वैशाख शुक्ल पूर्णिमाका दिन भगवान् विष्णुले कूर्म अवतार लिएको विभिन्न शास्त्रीय ग्रन्थमा वर्णन गरिएको छ । यसै सम्झनामा आज कूर्म जयन्ती मनाउन लागिएको हो ।

समुद्र मन्थनका बेला देवता र दैत्य एक भएर मन्दराचल पर्वतलाई मदानी बनाइएको थियो । मन्दराचल पर्वत समुन्द्रको गहिराइमा डुबेको देखेर देवता र दैत्यको प्रार्थनाअनुसार भगवान् विष्णु कूर्मरूपले अवतरित भई समुद्रभित्र प्रवेश गरेर मन्दराचल आफ्नो पीठमा धारण गरी समुन्द्र मन्थनमा सहयोग गरेको विषय विभिन्न पुराणमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउछन् ।

समुन्द्र मन्थनको पौराणिकता

स्वर्गका राजा इन्द्र एक दिन ऐरावत हात्तीमा सवार भएर यात्रा गर्दै थिए  । अचानक उनको भेट महर्षी दुर्वासासँग हुन गयो । दुर्वासा ऋषिले देवराजको स्वागतार्थ आफ्नो गलाको माला निकालेर दिए । देवराज इन्द्रले माला आफूले नपहिरिइ ऐरावत हात्तीलाई लगाइदिनुभयो । ऐरावत हात्ती मत्त भएर झुलिरहेको थियो । माला चुँडिएर भुइँमा खस्यो र ऐरावत हात्तीको गोडाले कुल्चियो ।

यो देखेर दुर्वासा ऋषि क्रोधित भएर देवराज इन्द्रलाई घमण्ड गरेको भनी राज्य पदच्युतको श्राप दिए । श्रापका कारण स्वर्गमा दैत्यहरूले कब्जा जमाए । दैत्यराज बलि स्वर्गका राजा भए । सधैँजसो देव दानवमा युद्ध हुन थाल्यो । देवताहरू सधैँ हार्दै गए । एक दिन देवताहरू साह्रै दुःखी भएर ब्रह्माजी ठाउँ गएर प्रार्थना गरे ‘हे सृष्टिकर्ता प्रभु ! दानवहरूले प
रा स्वर्ग नै सखाप पार्न थाले दैत्यराज बलिले उल्टो नियम चलाएर हजुरको सृष्टि विनाश गर्दैछन्, कोही उपाय सोच्नुहोस् नत्र हजुरको सृष्टि विनाश हुने बखत आयो’ यती सुनेर ब्रह्माजीले सबैलाई विष्णु भए ठाउँ जाने सल्लाह दिए ।

ब्रह्माजीसहित देवताहरू भगवान् विष्णुको वासस्थान वैकुण्ठ धाम गए । देवताहरूले भगवान् विष्णुको प्रार्थना गरेर सबै वृतान्त सुनाए । यो सुनेर भगवान् विष्णुले दैत्यसँग मेल गरी समुन्द्र मन्थनको राय दिए । समुन्द्र मन्थनमा देवता र दानव मिलेर बासुकी नागको नेती र मन्दराचल पर्वतको मदानी बनाएर क्षिर सागरलाई दही मथे जस्तै गरी मथ्नु पर्नेछ र यसरी मथिएमा सागरबाट अमृतको उत्पत्ति हुनेछ । अमृतको प्राप्तिपछि देवताहरूले अमृत खाएर दैत्यहरूसँग युद्ध गरी दानवलाई मारेर पुनःस्वर्ग प्राप्ति हुने भगवान् विष्णुले सुनाए ।

यो उपाय थाहा पाएपछि देवताहरू दैत्य राज बलि भएको ठाउँमा गएर भने– ‘महाराज ! हामी एउटै बाबु कश्यप ऋषिका सन्तान हौँ, केवल हाम्री आमा फरक भएकाले हामी सौते भाइ भयौँ, हामीले अब आपसमा वैरभाव राख्न उचित छैन, हामीले भगवान् विष्णुको राय बमोजिम समन्ुद्र मन्थन गर्नुप¥यो, जसबाट अमृत प्राप्ति हुनेछ, त्यो खाएर हामी कहिल्यै नमर्ने हुनेछौँ,  हामीलाई भगवान् विष्णुले सहयोग गर्नु हुनेछ’ यो सुनेर दैत्यराज बलिसहित सबै दानव देवताको योजनासँग सहमत भए । सबै मिलेर मन्दराचल पर्वतलाई उठाएर क्षिर सागरमा लगे । बासुकी नाग पनि नेती बन्न सहमत भए ।

मन्दराचल पर्वत समुन्द्रको गहिराइमा डुब्न लाग्यो । यो देखेर देव दानवहरू फेरि विष्णुको शरण लिन पुगे । भगवान् विष्णुले पनि कछुवाको रूप धारण गरेर पर्वतलाई आफ्नो पीठमा अड्काए । समुन्द्र मन्थनबाट सबैभन्दा पहिले हलाहल नामको विषको उत्पत्ति भयो । हलाहल बिषको असर देवताले सहन सकेनन् । भगवान् शिवले हलाहल बिष सबै पिए । शिवले हलाहल विष खाएपछि घाँटी निलो भयो । यसैले शिवलाई नीलकण्ठ भनिएको हो ।

समुद्र मन्थनबाट धनकी देवी लक्ष्मी, कामधेनु, रम्भा नामकी अप्सरा, उच्चश्रवा घोडा, भगवान् विष्णुको गलामा पहिरिएको कोस्तुभमणि, पारिजात कल्प वृक्ष, आदि १३ रत्न पछि अमृतको उत्पत्ति भएको थियो । मोहनी रूपी विष्णुले छल कपट गरेको थाहा पाएर दैत्यले फेरि देवतामाथि आक्रमण गरे । देव दानवको सङ्ग्राम मच्चियो । त्यसबेला देवराज इन्द्रपुत्र जयन्तले अमृत कलशको रक्षाको जिम्मा लिनुभयो । युद्ध पूरा १२ वर्षसम्म चलेको थियो । जयन्तले अमृत कलशलाई १२ वर्षसम्म चार अलग अलग ठाउँमा राखेका थिए ।

जहाँजहाँ जयन्तले अमृत कलश अर्थात् कुम्भ कलशलाई राखेका थिए तिनै ठाउँमा प्रत्येक १२ वर्षमा कुम्भ मेला लाग्दछ । नेपालका चतरा धाममा पनि कुम्भ अर्थात् कलश राखिएको विश्वास गरिन्छ । कुम्भ अर्थात् कलश राखेको ठाउँमा अमृतका छिटा परेको विश्वास गरिन्छ । देवता–दैत्य युद्धमा धेरैजसो दैत्य मारिए । अमृत खाएकाले देवता मरेनन् । अन्तमा देवताको विजय भयो । देवताले पुनःस्वर्ग प्राप्त गरे ।

देवताले भगवान् कूर्मको प्रार्थना गरे । भगवान् कूर्मले देवतालाई ‘जसले भगवान्को आशा राखेर कर्म गर्छ, त्यसैलाई सत्य सुख प्राप्त हुन्छ, जो घमण्ड र अभिमानको सहारा लिएर काम गर्छ, त्यसले कहिल्यै पनि अमृत जस्तो सुख प्राप्त गर्न सक्दैन’ भन्ने उपदेश दिएर अन्तध्र्यान भए । यसरी कूर्म अवतार लिएको कथा पुराणमा वर्णन गरिएको  छ ।

Ads

सम्बन्धित पोष्टहरू