तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नेपाल कम्युनिष्ट पार्टी ९एमाले०लाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन् । नेकपा एमाले तनहुँ जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले पार्टीलाई देशकै सबैभन्दा ठूलो र निर्णायक शक्ति बनाउने अभियानमा सबै एकजुट भएर लाग्नुपर्ने बताए ।
आगामी निर्वाचनमा तीनवटै तहमा एमालेको एकल बहुमत आउने गरी तयारी थाल्न कार्यकर्तालाई आग्रह गर्दै उनले भने, “आगामी निर्वाचनमा स्थानीय, प्रदेश र सङ्घमा बहुमत ल्याउने गरी काम गर्नुपर्ने लक्ष्यमा हिँडेका छौँ । यसका लागि सम्पूर्ण शक्ति लगाउनुपर्छ ।”
पार्टीका स्थायी कमिटी सदस्य रहनुभएका मुख्यमन्त्री अधिकारीले देश विकास, स्थिरता र आर्थिक समृद्धिका लागि एमालेलाई मूल शक्तिको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए । गण्डकी प्रदेशमा सरकार गठनको विषय सर्वोच्चमा विचाराधीन रहेको भन्दै सर्वोच्चको फैसला मानेर जानुको विकल्प नभएको उहाँले उल्लेख गरे।
प्रदेश सरकारले बजेट निर्माणको प्रक्रिया सुरु गर्न लागेको बताउँदै मुख्यमन्त्री अधिकारीले शुक्रबारदेखि सिद्धान्त र प्राथमिकताका विषयमा प्रदेशसभामा छलफल प्रारम्भ गरिने जानकारी दिए । उनले समाजवादको यात्रामा अगाडि बढ्ने क्रममा आइपर्ने बाधालाई पन्छाउँदै निरन्तर गन्तव्यतर्फ लाग्नुपर्ने उल्लेख गरे ।
मुख्यमन्त्री अधिकारीले भ्रष्टाचारलाई ढाकछोप गर्ने, कानुनको दुरुपयोग गर्ने लगायतका काम कोही कसैले गर्न नहुनेमा जोड दिए । पार्टीभत्र कोही पनि सदस्य सहकारीको अपचलनमा रहेको भेटिए तत्कालै कारबाही गरिने उनको भनाइ छ ।
मुख्यमन्त्री अधिकारीले भन्नुभयो, “हामी त्यस्ता व्यक्तिलाई संरक्षण गर्दैनौँ, पार्टीकै सहकारी विभागका सचिवको विषयमा कुरा आएपछि हामीले जिम्मेवारीबाट हटाएका छौँ ।” उनले प्रदेश सरकार प्रदेशलाई समृद्ध र विकासको गतिमा अगाडि बढाउन दृढ भएर लागेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्